पत्रकारमाथिको प्रहरी कारबाहीले प्रेस स्वतन्त्रता खुम्च्याउने जोखिम : महासंघ उपाध्यक्ष आचार्य

काठमाडौं, १३ कात्तिक २०८३। समाचार प्रकाशन गरेको विषयलाई लिएर पत्रकारमाथि भइरहेको प्रहरी धरपकडप्रति नेपाल पत्रकार महासंघका उपाध्यक्ष दीपक आचार्यले आपत्ति जनाउनुभएको छ। उहाँले पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पठाउने र पत्रकारको खोजी गर्ने गतिविधिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि असर पार्ने बताउनुभएको छ।

आचार्यका अनुसार समाचार लेखेकै आधारमा पत्रकारलाई प्रहरीमार्फत नियन्त्रणमा लिने र अनुसन्धानका लागि साइबर ब्युरो पुर्‍याउने कार्य उचित होइन। यस्तो व्यवहारले पत्रकारलाई स्वतन्त्र र निर्भय रूपमा काम गर्ने वातावरण कमजोर बनाउने उहाँको भनाइ छ।

उहाँले समाचारका विषयमा कुनै त्रुटि भए त्यसको कानुनी प्रक्रियाबाट समाधान खोज्न सकिने व्यवस्था हुँदाहुँदै प्रहरी परिचालन गरेर पत्रकारमाथि दबाब सिर्जना गर्नु आपत्तिजनक रहेको बताउनुभयो।

समाचार गलत भए सम्बन्धित निकायमा उजुरी गर्ने, बहस गर्ने र कानुनी उपचार खोज्ने विकल्प हुँदाहुँदै पत्रकारलाई जबर्जस्ती साइबर ब्युरो पुर्‍याउनु कानुनी राज्यको मान्यताविपरीत भएको आचार्यले टिप्पणी गर्नुभयो।

पत्रकारमाथि भइरहेका पक्राउ तथा सोधपुछका घटनाको विरोधमा नेपाल पत्रकार महासंघले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो।

आचार्यले पत्रकारलाई भयमुक्त वातावरणमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्ने गतिविधि रोक्न आग्रह गर्नुभएको छ।

१४ कार्तिक २०८३, शुक्रबार १९:१५