काठमाडौं, १० कात्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्ससामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टसपछि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाएको हो।
चितवनका लागि इंग्ल्यान्डका ब्याटर डेविड मलानले उत्कृष्ट प्रदर्शन गर्दै ७० रन बनाए। उनले ५० बलको सामना गर्दै पाँच चौका र पाँच छक्का प्रहार गरे। उनलाई आन्द्रे रसेलले बोल्ड आउट गरेका थिए।
त्यस्तै, ओपनर देव खनालले १५ बलमा एक चौकासहित १२ रन बनाए भने अर्जुन साउद तीन रनमा आउट भए। रवि बोपारा र ड्यान मुस्लेले मध्यक्रममा इनिङ्स सम्हाल्दै टोलीको स्कोर अघि बढाएका थिए।
विराटनगर किंग्सका बलर आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चारिथ असलंकाले समान एक–एक विकेट लिए। विराटनगरका कप्तान सन्दीप लामिछानेले चार ओभरमा २३ रन खर्चिए।
१५८ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको विराटनगरले सुरुवाती ओभरमा आक्रामक ब्याटिङ गरेको छ। तेस्रो ओभरको समाप्तिमा विराटनगरले कुनै विकेट नगुमाई ३१ रन बनाएको छ। लोकेश बमले चितवनका बलर रिजन ढकालको ओभरमा तीन चौका र एक छक्का प्रहार गरेका छन्। इमरान शेखले पनि दोस्रो ओभरमा लगातार दुई चौका प्रहार गरेका थिए।
विराटनगरलाई जितका लागि बाँकी ओभरमा आवश्यक रन जोड्दै चितवनका बलरलाई दबाबमा राख्नुपर्नेछ।
११ कार्तिक २०८३, मंगलवार १४:५०