काठमाडौं, १३ कात्तिक। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाचारको स्रोत पत्ता लगाउने बहानामा प्रहरी सञ्चारमाध्यमका कार्यालयभित्रै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिन थालेको भन्दै आपत्ति जनाउनुभएको छ।
उहाँले यस्तो गतिविधि जारी रहे देशमा संविधान र त्यसले सुनिश्चित गरेका अधिकार नै संकटमा पर्ने टिप्पणी गर्नुभएको छ।
गाउँलेका अनुसार अहिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि मात्रै नभई संविधानको रक्षाका लागि समेत आवाज उठाउनुपर्ने अवस्था सिर्जना भएको छ।
उहाँले सामाजिक सञ्जालमार्फत समाचारको स्रोत खोज्ने नाममा प्रहरी समाचारकक्षमै पुगेर पत्रकार पक्राउ गर्न थालेको हो भने संविधानको मर्ममाथि नै प्रहार भएको उल्लेख गर्नुभएको छ। प्रेस स्वतन्त्रताका लागि संघर्ष गर्नुपर्ने अवस्थामा अहिले संविधान जोगाउनसमेत लड्नुपर्ने परिस्थिति आएको उहाँको भनाइ छ।
यसैबीच, प्रहरीले समाचारको स्रोतबारे सोधपुछ गर्ने क्रममा नेपाल प्रेसका विश्वमणि सुवेदी, मोटिभेट न्युजका शोबराज बराल र डीएनए खबरका धिरज बस्नेतलाई नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ।
त्यस्तै, प्रहरी टोली नयाँ पत्रिकाको कार्यालय पुगेर पत्रकार नवराज मैनालीबारे सोधखोज गरेको थियो। मैनाली कार्यालयमा नभेटिएपछि प्रहरी टोली त्यहीँ बसेको नयाँ पत्रिकाका एक पत्रकारले जानकारी दिएका छन्।
दियो पोस्टको कार्यालयमा पनि प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानालाई भेट्न भन्दै प्रहरी पुगेको थियो।
एकै दिन विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई नियन्त्रणमा लिने र कार्यालयमै पुगेर सोधखोज गर्ने घटनाले पत्रकारिता क्षेत्रको प्रेस स्वतन्त्रता र समाचार स्रोतको गोपनीयतासम्बन्धी बहसलाई थप चर्काएको छ।
१४ कार्तिक २०८३, शुक्रबार १९:१८