शाह र मोदीबीच आज बिहान ११ बजे द्विपक्षीय वार्ता

नयाँ दिल्ली — भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज सोमबार बिहान ११ बजे भेटवार्ता हुँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई नेताबीच छलफल हुन लागेको हो।

भेटवार्ताका क्रममा दुई देशबीच विभिन्न महत्वपूर्ण विषयमा सहमति तथा सम्झौता हुने अपेक्षा गरिएको छ। वार्तापछि प्रधानमन्त्री शाह र मोदीले संयुक्त रूपमा केही आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ।

आयोजनाको उद्घाटनपछि दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा सम्बोधन गर्ने र त्यसपछि आयोजित दिवाभोजमा सहभागी हुने कार्यतालिका रहेको छ।

यसै क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको छ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारसहित उच्च सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी सहभागी छन्।

दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाह आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ।

८ मंसिर २०८३, सोमबार १०:५८