सिन्धुपाल्चोक — जुगल हिमालको आधारशिविरसम्म पुग्ने पर्यटकको यात्रा सहज बनाउन जुगल गाउँपालिकाले पदमार्गका विभिन्न स्थानमा सूचना बोर्ड र डस्टबिन राखेको छ।
‘जुगल भ्रमण वर्ष २०८३’ अन्तर्गत पर्यटन प्रवर्द्धन, धार्मिक सम्पदाको संरक्षण तथा पदमार्गको पूर्वाधार विकास गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। पवित्र भूमि नेपेमाछालमा विशेष पूजासहित पाँचदिने कार्यक्रम सम्पन्न भएपछि पदमार्गमा पर्यटकलाई आवश्यक सूचना र सरसफाइका सामग्री व्यवस्थापन गरिएको हो।
अभियानका क्रममा जुगलको उच्च हिमाली क्षेत्र, जुगल सर्किट पदमार्ग र ब्रह्मायणी नदीको मुहान क्षेत्रको स्थलगत अवलोकन गरिएको थियो। साथै, नेपेमाछालमा धार्मिक गुरुहरूबीच अन्तरक्रिया तथा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो।
पर्यटकलाई आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले तेम्बाथाङमा पर्यटक सूचना केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ। पदमार्गका विभिन्न ठाउँमा सूचना बोर्ड र डस्टबिन राखिनुका साथै स्थानीय होटल व्यवसायीसँग पर्यटकलाई दिइने सेवा तथा सुविधा विस्तारबारे छलफल गरिएको गाउँपालिकाले जनाएको छ।
अभियानमा सहभागी टोलीले पदमार्गमा भेटिएका सयौँ पर्यटकसँग प्रत्यक्ष संवाद गरी उनीहरूको अनुभव र समस्याबारे जानकारीसमेत लिएको थियो।
कार्यक्रममा जुगल गाउँपालिका–३ का वडाध्यक्ष लक्ष्मण दोङ तामाङ, लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक मोहन लामा, पण्डित नारायण ढुंगाना, स्थानीय लामा गुरु, पत्रकार तथा युवाहरूको सहभागिता थियो।
पदमार्गमा पर्यटकको चहलपहल बढ्दै गएको उल्लेख गर्दै गाउँपालिकाले यसलाई जुगलको पर्यटन विकासका लागि सकारात्मक संकेतका रूपमा लिएको छ। यात्राका क्रममा देखिएका समस्या सम्बन्धित निकायसँग समन्वय गरी समाधान गर्दै जाने प्रतिबद्धता पनि गाउँपालिकाले जनाएको छ।
८ मंसिर २०८३, सोमबार ११:०५