प्रधानमन्त्री शाह भारत भ्रमणमा, मोदीसँग सोमबार द्विपक्षीय वार्ता हुने

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत गएका हुन्।

प्रधानमन्त्री शाहसँग भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र सहभागी छन्।

त्यस्तै, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उपसंयोजक विनय शाक्य पनि टोलीमा छन्। उच्च सरकारी अधिकारी, व्यवसायी र सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसहित भ्रमण टोलीमा ३५ जना रहेका छन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री मोदीसँग भने सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।

दुई देशबीचको सम्बन्धलाई आर्थिक तथा विकास साझेदारीका क्षेत्रमा थप विस्तार गर्ने विषय वार्ताको मुख्य प्राथमिकतामा रहनेछ। व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासमा सहकार्य बढाउने विषयमा दुवै पक्षबीच छलफल हुने जनाइएको छ।

भ्रमणका अवसरमा ऊर्जा सहकार्य तथा दुई देशबीचको सम्पर्क सञ्जालसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि छ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गरिने तयारी छ।

भ्रमणको पहिलो दिन भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोमबार प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।

भारत भ्रमण पूरा गरी प्रधानमन्त्री शाह मंगलबार साँझ ६:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ। भ्रमण टोली फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणबारे जानकारी दिनेछन्।

७ मंसिर २०८३, आईतवार १५:४१