सांसदका प्रश्नदेखि विधेयकको अवस्थासम्म अब डिजिटल प्रणालीबाटै निगरानी गरिने

६ मंसिर, काठमाडौं । संघीय संसद्का गतिविधिलाई डिजिटल माध्यमबाट अभिलेख राख्ने र अनुगमन गर्ने उद्देश्यले ‘डिजिटल पार्लियामेन्ट’ अवधारणा तयार गरिएको छ। यसअन्तर्गत सांसदहरूले मोबाइल एपमार्फत संसदीय गतिविधिबारे जानकारी लिन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

प्रस्तावित प्रणाली लागू भएमा सांसदले संसद्मा उठाएका प्रश्न, त्यसको जवाफ, विधेयकको प्रगति, संसदीय समितिका निर्देशन तथा सरकारी निकायले गरेका कामकारबाही एउटै डिजिटल प्लेटफर्मबाट हेर्न सकिनेछ।

संघीय संसद् सचिवालयको प्रविधि व्यवस्थापन महाशाखा प्रमुख विशाल सापकोटाको नेतृत्वमा गठित सहजीकरण समितिले संसद्को विधायिकी काम, सरकारमाथिको निगरानी र संस्थागत अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्यसहित अवधारणा तयार पारेको हो।

समितिले तयार पारेको अवधारणा संसद् सचिवालयलाई बुझाइसकेको सापकोटाले जानकारी दिएका छन्।

उनका अनुसार डिजिटल पार्लियामेन्टको मुख्य उद्देश्य संघीय संसद्का कामकारबाहीलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउनु हो। यसले संसदीय गतिविधिको अभिलेखीकरण तथा अनुगमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

८ मंसिर २०८३, सोमबार ११:१०