काठमाडौं, असोज २७। आसन्न दसैँ, तिहार, छठ तथा नेपाल संवत् ११४७ का अवसरमा नागरिकको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले मातहतका कर्मचारीलाई उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिएका छन्।
असोज २७ गते सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयबाट प्रत्यक्ष भिडियो प्रसारणमार्फत निर्देशन दिँदै महानिरीक्षक पौडेलले चाडपर्वलाई लक्षित गरी तयार पारिएको विशेष सुरक्षा योजना, २०८३ प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिएका हुन्।
उनले चाडपर्वका समयमा हुन सक्ने सवारी दुर्घटना, चोरी तथा लुटपाटका घटना नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएका छन्। साथै, सीमापार हुने अवैध गतिविधि, राजस्व चुहावट र लागूऔषध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निगरानी थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
महानिरीक्षक पौडेलले संगठनभित्र सुशासन, पारदर्शिता र अनुशासन कायम राख्नुपर्ने उल्लेख गर्दै भ्रष्टाचार तथा अधिकारको दुरुपयोगप्रति शून्य सहनशीलताको नीति अपनाउन कर्मचारीलाई निर्देशन दिएका छन्।
त्यसैगरी, आन्तरिक सुरक्षा र हुलदंगा नियन्त्रणका क्रममा आवश्यकताअनुसार समानुपातिक बल प्रयोग गर्न, मानवअधिकारको सम्मान गर्न तथा लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति पूर्ण रूपमा पालना गर्न उनले आग्रह गरेका छन्।
चाडपर्वका बेला नागरिकले सुरक्षित वातावरणमा पर्व मनाउन सक्ने अवस्था सुनिश्चित गर्न सुरक्षा निकायका कर्मचारी जिम्मेवार, अनुशासित र सेवामुखी भएर परिचालित हुनुपर्नेमा महानिरीक्षक पौडेलले जोड दिएका छन्।
२७ आश्विन २०८३, मंगलवार १६:२५