भोटेकोशी बाढीका बेपत्ताको पहिचान गर्न प्रहरीले सुरु गर्‍यो डिजिटल प्रणाली

काठमाडौँ — भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकको पहिचान सहज बनाउन नेपाल प्रहरीले डीएनए नमुना संकलन र डिजिटल सूचना प्रणाली सञ्चालनमा ल्याएको छ।

बेपत्ता आफन्तको खोजी गर्दै परिवारका सदस्य तथा पर्यटकहरू आउने क्रम नरोकिएपछि प्रहरीले डीएनए परीक्षण प्रक्रिया, पहिचान नखुलेका शवको विवरण र सम्पर्क अधिकारीहरूको जानकारी सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार बाढीपछि फेला परेका पहिचान नखुलेका शव तथा शरीरका अंगको पहिचानका लागि अटोसोमल एसटीआर डीएनए परीक्षण विधि प्रयोग गरिनेछ। यसका लागि बेपत्ता व्यक्तिका नेपालमा रहेका नजिकका आफन्तमध्ये बाबु, आमा, छोरा वा छोरीले रगतको नमुना उपलब्ध गराउन सक्नेछन्।

नमुना दिन चाहने आफन्तले दुई प्रति पासपोर्ट आकारको फोटोसहित महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको प्याथोलोजी प्रयोगशाला वा आफूलाई पायक पर्ने जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

विदेशमा रहेका आफन्तले भने आफ्नो देशको आधिकारिक प्रयोगशालाबाट डीएनए परीक्षण गराई त्यसको विद्युतीय प्रतिलिपि नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्ने व्यवस्था गरिएको छ। यस प्रक्रियालाई सहज बनाउन प्रहरीले सम्पर्क अधिकारीका मोबाइल नम्बरसमेत सार्वजनिक गरेको छ।

त्यसैगरी, बाढीपछि फेला परेका तर पहिचान खुल्न नसकेका तथा बेवारिसे शवको विवरण पनि अनलाइनमार्फत हेर्न सकिने भएको छ। पर्यटक प्रहरी कार्यालयमा राखिएको क्यूआर कोड स्क्यान गरेर वा नेपाल प्रहरीको वेबसाइटमा प्रवेश गरेर सम्बन्धित विवरण प्राप्त गर्न सकिने प्रहरीले जनाएको छ।

शवको विवरण हेर्न नेपाल प्रहरीले https://udb.nepalpolice.gov.np/dead-bodies वेबसाइट उपलब्ध गराएको छ। बेपत्ता, उद्धार गरिएका, घाइते वा पहिचान नखुलेका विदेशी नागरिकबारे जानकारी लिन चौबीसै घण्टा सम्पर्क गर्न सकिने व्यवस्था पनि मिलाइएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक नन्तीराज गुरुङसहित विभिन्न समयमा जिम्मेवारीमा रहने अधिकारीहरूको सम्पर्क विवरण सार्वजनिक गरिएको छ। विदेशी नागरिकसम्बन्धी जिज्ञासा इमेलमार्फत पनि पठाउन सकिने प्रहरीले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीपछि हालसम्म १ हजार ४५७ जनाको शव फेला परेको छ भने ५ हजार २८५ जना अझै बेपत्ता छन्। नदी किनारमा भेटिएका शवमध्ये १ हजार १४८ वटालाई भविष्यमा पहिचान गर्न सकिने उद्देश्यले डीएनए नमुना संकलन गरी सुरक्षित रूपमा गाडिएको प्राधिकरणले जनाएको छ।

७ मंसिर २०८३, आईतवार १६:२८