नयाँ दिल्ली — भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा औपचारिक वार्ता भइरहेको छ।
नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु भएको वार्ता आधा घण्टाभन्दा बढी चल्ने नेपाली प्रतिनिधिमण्डलसँग रहेका अधिकारीहरूले बताएका छन्। प्रधानमन्त्री बनेपछि शाह र मोदीबीच भएको यो पहिलो औपचारिक एक्लाएक्लै भेटवार्ता हो।
वार्तामा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षसँगै बाढीपछिको पुनर्निर्माण, हवाई सम्पर्क, ऊर्जा सहकार्य, व्यापार, पारवहन र पूर्वाधार विकासका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
गत भदौ १० गते आएको बाढीले रसुवा–भोटेकोशी करिडोरका पूर्वाधारमा ठूलो क्षति पुर्याएको थियो। त्यसको पुनर्निर्माणका लागि नेपालले भारतसँग आर्थिक सहयोगको प्याकेज माग्दै आएको छ। त्यस्तै, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन पनि नेपालले भारतसँग आग्रह गर्दै आएको छ।
दुई देशबीच दीर्घकालीन सहकार्यका लक्ष्य र मापनयोग्य उपलब्धि समेट्ने प्रस्तावित संयुक्त दृष्टिपत्रका विषयमा पनि छलफल हुने बताइएको छ।
एक्लाएक्लै वार्ता सकिएपछि दुवै देशका प्रतिनिधिमण्डलबीच छलफल हुनेछ। त्यसपछि प्रधानमन्त्रीद्वयले भर्चुअल माध्यमबाट विभिन्न विकास परियोजनाको उद्घाटन गर्ने तथा समझदारीपत्र र सम्झौताहरू आदानप्रदान गर्ने कार्यक्रम छ। दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा सञ्चारकर्मीलाई सम्बोधन गर्ने कार्यतालिका पनि रहेको छ।
यसअघि सोमबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई सम्मान गारत अर्पण गरिएको थियो। भारतीय प्रधानमन्त्री मोदीले त्यहीँ उनको स्वागत गरेका थिए। शाहले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जलीसमेत व्यक्त गरेका थिए।
मोदीको निमन्त्रणामा आइतबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने र राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। उनी सोमबार साँझ काठमाडौं फर्कने तालिका रहेको छ।
८ मंसिर २०८३, सोमबार १२:१९