काठमाडौं — रुकुम पश्चिमको आठविसकोट नगरपालिका–३ का वडा अध्यक्ष केशरमान विकलाई प्रहरीले हिरासतमा कुटपिट गरेको आरोप लगाइएको छ। नेपाली कम्युनिस्ट पार्टीले घटनाको छानबिन गरी दोषी प्रहरीमाथि कारबाही गर्न माग गरेको छ।
पार्टीका रुकुम पश्चिम जिल्ला संयोजक गोविन्द रोका र सहसंयोजक सुरज परियारले विज्ञप्ति जारी गर्दै वडा अध्यक्ष विकमाथि हिरासतमा दुर्व्यवहार भएको दाबी गरेका हुन्।
प्रहरीका अनुसार फरार रहेका ३३ वर्षीय गोपाल विक भन्ने वीरेन्द्र विकलाई पक्राउ गर्न गएको टोलीलाई विकले अवरोध गरेका थिए। अभद्र व्यवहारसम्बन्धी मुद्दामा फरार रहेका गोपाललाई पक्राउ गर्ने क्रममा वडा अध्यक्ष केशरमानले प्रहरीसँग विवाद गर्नुका साथै हातपात गरेर भाइलाई भगाएको प्रहरीको आरोप छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्स्पेक्टर झबिन्द्र परियारका अनुसार राष्ट्रसेवकको काममा अवरोध गरेको आरोपमा केशरमानलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि तीन दिनको म्याद लिइएको थियो।
तर नेकपाका जिल्ला संयोजक सचिन रोकाले भने प्रहरी हिरासतको अगाडिको प्रतीक्षालयमा वडा अध्यक्षलाई प्रहरी कर्मचारीले कुटपिट गरेको दाबी गरेका छन्। उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन छानबिन आवश्यक रहेको बताएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि सुर्खेत लगियो
हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि केशरमानलाई बुधबार बिहान करिब ३ बजे उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ। उनको हाल सुर्खेतमै उपचार भइरहेको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोष सिंह राठौरले भने वडा अध्यक्षलाई हिरासतमा कुटपिट गरिएको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार केशरमानलाई हिरासतमा सम्मानपूर्वक राखिएको थियो।
प्रहरीका अनुसार आठविसकोट नगरपालिका–१ स्थित कालिका मन्दिर क्षेत्रको सडकमा फरार अभियुक्त गोपाल विकलाई नियन्त्रणमा लिन खोज्दा वडा अध्यक्ष र प्रहरीबीच हातपात भएको थियो।
जिल्ला प्रहरी कार्यालयले जारी गरेको विवरणमा केशरमानले प्रहरीसँग विवाद गर्दै धकेलेको, भाइलाई पक्राउबाट जोगाएर भगाएको तथा ड्युटीमा रहेका प्रहरीको कपडा च्यातेको दाबी गरिएको छ।
यता नेकपाका जिल्ला संयोजक रोकाले प्रहरीको यो दाबीमाथि प्रश्न उठाउँदै घटनास्थलमा भएको भनिएको हातपातको भिडियो सार्वजनिक गर्न चुनौती दिएका छन्। घटनाबारे दुवै पक्षका दाबी फरक रहेकाले छानबिनबाट वास्तविकता स्पष्ट हुने देखिएको छ।
२१ आश्विन २०८३, बुधबार १२:०८