८ मंसिर, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कानुन संशोधनका क्रममा विधेयकमा रहेको ‘वेश्यावृत्ति’ शब्दको सट्टा अर्को उपयुक्त शब्द राख्ने विषयमा छलफल अघि बढेको छ।
प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा सोमबार भएको विधेयकमाथिको दफावार छलफलमा उक्त शब्दको विकल्प र त्यसले पार्न सक्ने कानुनी प्रभावबारे बहस भएको हो।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले मन्त्रालयले विभिन्न चरणमा छलफल गरे पनि उपयुक्त शब्द टुंगो लगाउन नसकेको जानकारी गराइन्। उनले विकल्प सुझाउन समिति सदस्यहरूलाई आग्रह गर्दै उपयुक्त प्रस्ताव आए विधेयकमा समावेश गर्न मन्त्रालय तयार रहेको बताइन्।
समिति सभापति आकृति अवस्थीले भने शब्द परिवर्तन गर्दा त्यसको विद्यमान कानुनी अर्थ कमजोर हुन नहुनेमा जोड दिइन्। नयाँ शब्दका कारण अपराधमा संलग्न व्यक्तिले कानुनी सजायबाट उन्मुक्ति पाउने अवस्था आउन नहुने उनको भनाइ थियो।
उनले ‘शारीरिक शोषण’ को परिभाषाले कुटपिट, मानव अङ्गको बेचबिखन र जबर्जस्ती श्रममा लगाउनेजस्ता कार्यलाई समेत समेट्न सक्ने उल्लेख गरिन्। त्यसैले पुरानो शब्द हटाउँदा त्यसले समेटेका सबै अपराधको अर्थ नयाँ शब्दले पनि समेट्नुपर्ने उनले बताइन्।
सभापति अवस्थीले शब्द हटाउने प्रस्ताव मात्र पर्याप्त नहुने भन्दै त्यसको सट्टा प्रयोग गरिने शब्द, त्यसको कानुनी आधार र सजाय कार्यान्वयनमा पर्न सक्ने असरबारे स्पष्ट सुझाव दिन सांसदहरूलाई आग्रह गरिन्।
छलफलमा समिति सदस्य पार्वती विक, एशुदा कुमारी बराल र ज्ञानु पौडेललगायतले संशोधनका प्रस्ताव प्रस्तुत गरेका थिए। तर, वैकल्पिक शब्दबारे सहमति जुट्न नसकेपछि समितिले सम्बन्धित दफामाथिको छलफल अर्को बैठकमा गर्ने निर्णय गरेको छ।
विधेयकमा संशोधन प्रस्ताव राख्ने सांसदहरूले ‘वेश्यावृत्ति’ शब्दले विशेषगरी महिलामाथि सामाजिक कलङ्क र विभेदको भार थप्ने भन्दै यसको सट्टा अर्को शब्द प्रयोग गर्नुपर्ने धारणा राख्दै आएका छन्।
विधेयकमा के छ?
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकको दफा ३ को उपदफा ४ को खण्ड (ङ) मा ‘शोषण’ को परिभाषा दिइएको छ।
उक्त व्यवस्थाअनुसार कसैलाई दास वा बाँधा बनाउने, त्यस्तो हैसियतमा राख्ने, वेश्यावृत्तिमा लगाउने, विद्युतीय वा अन्य माध्यमबाट यौन शोषण गर्ने, प्रचलित कानुनविपरीत मानव अङ्ग झिक्ने तथा जबर्जस्ती श्रममा लगाउने कार्यलाई शोषण मानिएको छ।
९ मंसिर २०८३, मंगलवार १४:५२