धुलिखेलमा चीनको सहयोगमा ‘हेचे पियोनी उद्यान’ स्थापना

मंसिर ८, काठमाडौँ । नेपाल र चीनबीच सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले काभ्रेको धुलिखेलमा ‘हेचे पियोनी उद्यान’ निर्माण गरिएको छ। चीनको शान्दोङ प्रान्तस्थित हेचे नगरपालिकाको सहयोगमा तयार भएको उद्यानको सोमबार चिनियाँ राजदूत चाङ माओमिङले उद्घाटन गरेका छन्।

उद्यान उद्घाटनका क्रममा राजदूत माओमिङले यसलाई नेपाल र चीनबीचको मित्रता तथा जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने माध्यमका रूपमा उल्लेख गरे। उनका अनुसार फूल र बिरुवाको आदानप्रदानबाट सुरु भएको दुई नगरबीचको सम्बन्धलाई अब पर्यटन, शिक्षा, संस्कृति र आर्थिक सहकार्यमार्फत अघि बढाउन सकिनेछ।

गत अप्रिलमा चीनको हेचे सहरमा ‘नेपाल गुराँस उद्यान’ उद्घाटन गरिएको थियो। त्यस अवसरमा नेपाली र चिनियाँ प्रतिनिधिहरूले पियोनी र गुराँसका बीउ आदानप्रदान गरेका थिए। त्यसको करिब सात महिनापछि धुलिखेलमा पियोनी उद्यान निर्माण गरिएको हो।

राजदूत माओमिङले फूल र बिरुवाको आदानप्रदानलाई दुई सहरबीचको सम्बन्ध विस्तारको सुरुवातका रूपमा व्याख्या गरे। उनले हेचे र धुलिखेलबीच सरकारी निकाय, सामाजिक संस्था, उद्यमी, विज्ञ तथा युवाहरूको आवतजावत र सहकार्य बढाउनुपर्नेमा जोड दिए।

चीनमा पियोनीलाई ‘फूलहरूको राजा’ भनिन्छ। राजदूत माओमिङका अनुसार उनको गृहनगर हेचेमा पियोनी खेतीको इतिहास १ हजार ५०० वर्षभन्दा पुरानो छ। त्यहाँ १ हजार ३०८ प्रजातिका पियोनी पाइन्छन् भने हेचे चीनको पियोनी राजधानीका रूपमा परिचित छ।

उनले पियोनी र गुराँसका प्रजाति आदानप्रदान, संयुक्त प्रजनन, उन्नत प्रजातिको विकास तथा रोग र कीरा नियन्त्रणमा प्राविधिक सहकार्य गर्न चीन इच्छुक रहेको बताए। धुलिखेलको प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र गुराँसको सम्भावनालाई पर्यटनसँग जोड्न सकिने उनको भनाइ थियो।

धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले उद्यान निर्माणले नगरको पर्यटन प्रवर्द्धन, हरियाली विस्तार र स्थानीय आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। पर्यटनबाट होटल, रेस्टुरेन्ट तथा साना व्यवसायमार्फत स्थानीयको आयआर्जन बढाउन सकिने उनले बताए।

कार्यक्रममा जंगमले अरनिको राजमार्गको सञ्चालन तथा स्तरोन्नतिका लागि पनि चिनियाँ पक्षसँग सहयोग मागे। राजमार्गको सञ्चालन र सुधारका विषयमा यसअघि पनि चिनियाँ राजदूतसँग छलफल भएको स्मरण गराउँदै उनले थप सहकार्यको अपेक्षा व्यक्त गरे।

हेचेको पुष्प संस्कृति र अनुभव धुलिखेलमा भित्र्याउन पाउनु अवसर भएको उल्लेख गर्दै उनले आगामी दिनमा पर्यटन, संस्कृति, वातावरण संरक्षण तथा विकासका अन्य क्षेत्रमा पनि दुई नगरबीच सहकार्य विस्तार हुने विश्वास व्यक्त गरे।

९ मंसिर २०८३, मंगलवार ११:१९