सुनकोशी–मरिणको ठेक्का विवादमा लेखा समितिको चासो, सात दिनभित्र कागजात माग

८ मंसिर, काठमाडौं । सुनकोशी–मरिण डाइभर्सन आयोजनाको निर्माण ठेक्का रद्द गर्ने निर्णयमाथि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानबिन प्रक्रिया अघि बढाएको छ। समितिले ठेक्का रद्द गर्दाका आधार र प्रक्रियासँग सम्बन्धित कागजात सात दिनभित्र पेस गर्न सम्बन्धित निकायलाई भनेको छ।

सोमबार बसेको समितिको बैठकमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल भएको थियो। छलफलपछि समितिले ठेक्का प्रक्रियासम्बन्धी सम्पूर्ण विवरण माग्ने निर्णय गरेको हो।

समिति सभापति भरतबहादुर खड्काले प्राप्त कागजातको अध्ययनपछि विषयलाई थप छलफलमा लैजाने बताएका छन्।

आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र अन्य संरचना निर्माणका लागि अघि बढाइएको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेपछि रद्द गरिएको विषयमा समितिमा उजुरी परेको थियो। टेन्डरका आवश्यक प्रक्रिया पूरा भइसकेको अवस्थामा ठेक्का रद्द गर्नु अनुचित भएको उजुरीकर्ताको भनाइ छ।

तर, विभागका महानिर्देशक रजौरियाले भने ठेक्का रद्द गर्ने निर्णय कानुनअनुसार नै गरिएको दाबी गरेका छन्। ठेक्का रद्द गर्नुको आधार र निर्णय प्रक्रियाबारे समितिले अब माग गरिएका कागजात अध्ययन गर्नेछ।

सुनकोशी–मरिण आयोजना सम्पन्न भएपछि मधेश प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य छ। आयोजनाबाट करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ पुर्‍याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ।

आयोजनाको १३.३ किलोमिटर लामो सुरुङ निर्माणको ब्रेक थ्रु २०८१ वैशाख २६ गते भएको थियो। तर, सुरुङ निर्माणको उक्त चरण पूरा भएयता आयोजना अघि बढ्न सकेको छैन। ठेक्का रद्दसम्बन्धी विवादले आयोजनाको बाँकी कामबारे थप प्रश्न उठाएको छ।

९ मंसिर २०८३, मंगलवार ११:२३