
आईसिँ तामाङ,सिन्धुपाल्चोक ।
किशोरकिशोरीहरूको मानसिक स्वास्थ्यसम्बन्धी विषयलाई सञ्चारमाध्यममार्फत जिम्मेवार ढंगले उठान गर्ने उद्देश्यले चौतारामा पत्रकारहरूसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (REST) तथा 2048 KTM को आयोजनामा, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको समन्वय र Foundation for a Just Society International, Ltd. को आर्थिक सहयोगमा चौतारास्थित न्यू अरणिको रिसोर्टमा कार्यक्रम आयोजना गरिएको हो। “Mental Health: Responsible Media Reporting on Adolescent Mental Health” विषयक कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो।कार्यक्रममा पछिल्लो समय किशोरकिशोरीहरूमा बढ्दो मानसिक स्वास्थ्य समस्याका कारण, चुनौती तथा समाधानका उपायबारे छलफल गरिएको थियो।

आधुनिक जीवनशैली, प्रविधिको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव, पारिवारिक वातावरण तथा अस्वस्थकर खानपानले किशोरकिशोरीहरूको मानसिक स्वास्थ्यमा पारिरहेको असरबारे जानकारी दिइएको थियो।मुख्य प्रशिक्षक तथा जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीले जङ्क फूड तथा प्रशोधित खानाले शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्ने बताउँदै चिन्ता, तनाव, आत्मविश्वासको कमी र डिप्रेसनजस्ता समस्यासँग खानपानको सम्बन्ध रहेको उल्लेख गर्नुभयो। उहाँले किशोरकिशोरीहरूको मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि स्वस्थ जीवनशैली र सन्तुलित आहार आवश्यक रहेको धारणा राख्नुभयो।अन्तर्क्रियामा मोबाइल फोन तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगले एक्लोपन, मानसिक दबाब, निद्रासम्बन्धी समस्या र आत्मसम्मानमा कमी ल्याउने विषयमा समेत चर्चा गरिएको थियो। साथै, विज्ञापन तथा डिजिटल सामग्रीमार्फत बालबालिका र किशोरकिशोरीलाई लक्षित गरी गरिने अस्वस्थकर खानाका प्रचारप्रसारले उनीहरूको व्यवहार र जीवनशैलीमा नकारात्मक प्रभाव पारिरहेको विषयमा पनि जोड दिइएको थियो।कार्यक्रममा मानसिक स्वास्थ्यजस्तो संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने नैतिक मापदण्ड, तथ्यमा आधारित रिपोर्टिङ, संवेदनशील भाषा प्रयोग, पीडितको गोपनीयताको संरक्षण तथा सनसनीपूर्ण प्रस्तुतीकरणबाट बच्नुपर्ने विषयमा विशेष जोड दिइएको थियो।सहभागी पत्रकारहरूले मानसिक स्वास्थ्यसम्बन्धी विषयलाई प्राथमिकताका साथ उठान गर्दै जनचेतनामूलक सामग्री उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमले किशोर मानसिक स्वास्थ्यका सवालमा सञ्चारकर्मीहरूको ज्ञान, सीप र संवेदनशीलता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
१९ जेष्ठ २०८३, मंगलवार ११:२८