सिन्धुपाल्चोक, असोज २८। मनसुन कमजोर भएसँगै मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा पानी पठाउने कार्य पुनः सुरु गरिएको छ। वर्षायामका कारण रोकिएको पानी आपूर्ति बुधबार दिउँसो १ बजेदेखि सञ्चालनमा ल्याइएको हो।
मेलम्ची खानेपानी विकास समिति, पानीपोखरीका अनुसार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथान हेडबक्समा पानी धमिलो भएपछि गत असार १९ गतेदेखि काठमाडौंमा पानी पठाउन बन्द गरिएको थियो।
मनसुनका बेला खोलामा पानीको बहाव बढ्ने र धमिलो पानी आयोजनामा प्रवेश गर्दा सञ्चालनमा समस्या आउन सक्ने भएकाले वर्षायामभरि आपूर्ति रोकिएको समितिले जनाएको छ।
मौसम अनुकूल भएसँगै आयोजनाको सुरुङमार्गस्थित हेडबक्सबाट पुनः पानी पठाउन थालिएको हो। मेलम्चीको पानी आपूर्ति सुरु भएपछि काठमाडौं उपत्यकाका बासिन्दालाई खानेपानी व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ।
वर्षायाममा सम्भावित बाढी र धमिलो पानीका कारण आयोजना सञ्चालनमा जोखिम बढ्ने भएकाले मनसुन अवधिमा आपूर्ति बन्द गर्ने गरिएको छ। अहिले पानी पठाउन थालिएसँगै उपत्यकामा खानेपानी वितरण क्रमशः सहज हुने विश्वास गरिएको छ।
२८ आश्विन २०८३, बुधबार १५:५०