भोटेकोशी बाढीपीडितको पुनर्निर्माणका लागि मलेसियाको १४ करोड रुपैयाँ सहयोग

काठमाडौं, असोज २८। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन मलेसिया सरकारले नेपाललाई १० लाख अमेरिकी डलर अर्थात् करिब १४ करोड रुपैयाँ उपलब्ध गराएको छ।

मलेसियाका परराष्ट्रमन्त्री उतामा हाजी मोहम्मद बिन हाजी हसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रदान गरेको सहयोग रकमको चेक बुधबार नेपालका लागि मलेसियाकी कार्यवाहक राजदूत मुदिता बज्राचार्यले ग्रहण गरेकी हुन्।

गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण कार्यलाई सघाउने उद्देश्यले मलेसियाले उक्त आर्थिक सहायता उपलब्ध गराएको हो। बाढीका कारण भएको जनधनको क्षति र भौतिक विनाशप्रति दुःख व्यक्त गर्दै मलेसियाका परराष्ट्रमन्त्री हसनले प्रभावित नागरिकप्रति समवेदना प्रकट गरेका छन्।

नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनुका साथै नेपाली नागरिकप्रति ऐक्यबद्धता व्यक्त गरेकोमा कार्यवाहक राजदूत बज्राचार्यले मलेसिया सरकारलाई धन्यवाद दिएकी छन्।

मलेसियाबाट प्राप्त यो सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका लागि उपयोग गरिने जनाइएको छ।

२८ आश्विन २०८३, बुधबार १५:४६