प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र–नेपालको सिकाइ तथा अनुभव आदान–प्रदान

द्वन्द्व समाधानमा संवाद र सहकार्यमा जोड

भक्तपुर । प्राकृतिक स्रोतसँग जोडिएका विवाद तथा द्वन्द्व समाधानका लागि संवाद, सहकार्य र बहुसरोकारवालाको सहभागितालाई प्रभावकारी माध्यम बनाउनुपर्नेमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जोड दिनुभएको छ। प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र–नेपालको आयोजनामा भक्तपुरको बोडेमा सुरु भएको बहुसरोकारवाला द्वन्द्व रूपान्तरण अभियान, सिकाइ तथा अनुभव आदान–प्रदान गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री थापा मगरले यस्तो बताउनुभएको हो।


प्राकृतिक स्रोतको उपयोग, संरक्षण तथा व्यवस्थापनका क्रममा विभिन्न पक्षबीच विवाद उत्पन्न हुने गरेको उल्लेख गर्दै उहाँले त्यस्ता विवादलाई बल प्रयोग वा एकतर्फी निर्णयबाट भन्दा संवाद र सहमतिका माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभयो। स्थानीय समुदाय, नागरिक समाज, सरकारी निकाय तथा अन्य सरोकारवाला पक्षबीच सहकार्य र समन्वय भएमा द्वन्द्वलाई समयमै व्यवस्थापन गर्न सकिने उहाँको भनाइ थियो।
मुख्यमन्त्री थापा मगरले प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र–नेपालले सञ्चालन गर्दै आएको अभियानप्रति आभार व्यक्त गर्नुभयो। स्थानीय तहदेखि प्रदेश र राष्ट्रिय तहसम्म द्वन्द्व रूपान्तरण तथा मेलमिलापको अभ्यासलाई विस्तार गर्न संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उहाँले बताउनुभयो।


उहाँले आगामी दिनमा योजना निर्माण र कार्यान्वयनमा संस्थासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। बागमती प्रदेशभित्रका सबै स्थानीय तहसम्म संस्थाको अभियान पु¥याउन आफूले आवश्यक पहल गर्ने बताउँदै मुख्यमन्त्री थापा मगरले यस वर्षका लागि प्रदेश सरकारबाट केही बजेटसमेत छुट्याइएको जानकारी दिनुभयो।
‘द्वन्द्व समाधानका लागि सरकार मात्र पर्याप्त हुँदैन,’ उहाँले भन्नुभयो, ‘स्थानीय समुदाय, नागरिक समाज, गैरसरकारी क्षेत्र र अन्य सरोकारवाला सबैको सहकार्य आवश्यक हुन्छ।’ उहाँले स्थानीयस्तरमा उत्पन्न हुने विवादलाई सुरुकै चरणमा पहिचान गरी समाधानको पहल गर्न सकेमा त्यसले ठूलो द्वन्द्वको रूप लिनबाट रोक्न सकिने धारणा राख्नुभयो।
कार्यक्रममा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र–नेपालका कार्यकारी निर्देशक चुपबहादुर थापाले संस्थाले सञ्चालन गर्दै आएको अभियानले देशमा मेलमिलाप र संवादको संस्कृतिको विकासमा योगदान पु¥याइरहेको बताउनुभयो। प्राकृतिक स्रोत तथा सामाजिक विषयसँग जोडिएका विवादलाई पक्षहरूबीच संवाद गराएर समाधान खोज्ने अभ्यासले समुदायमा सहकार्यको वातावरण निर्माण गर्न सहयोग पुगेको उहाँले बताउनुभयो।

थापाले दिगो शान्तिको अभियानलाई सबै तह र समुदायसम्म पु¥याउन सरकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। सरकारका नीति, योजना र कार्यक्रमसँग द्वन्द्व रूपान्तरणका अभ्यासलाई जोड्न सकेमा अभियान अझ प्रभावकारी हुने उहाँको भनाइ थियो।

उहाँले द्वन्द्व समाधानका लागि समस्या देखिएपछि मात्र सक्रिय हुनेभन्दा द्वन्द्व उत्पन्न हुन सक्ने अवस्था पहिचान गरी पूर्वतयारी र संवादको अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। स्थानीय तहमा देखिएका विवादलाई सम्बन्धित पक्षको सहभागितामा समाधान खोज्ने अभ्यासले समुदायमा विश्वास र सहकार्य बढाउने उहाँले बताउनुभयो।
कार्यकारी निर्देशक थापाले मुख्यमन्त्री थापा मगरले संस्थाको कामप्रति देखाउनुभएको चासो, समर्थन र हौसलाप्रति कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले मुख्यमन्त्रीको सहकार्यको प्रतिबद्धताको प्रशंसा गर्दै संस्थाको अभियानलाई प्रदेशका सबै स्थानीय तहसम्म विस्तार गर्न सरकारी सहयोग महत्वपूर्ण हुने बताउनुभयो।


द्वन्द्वको मूल कारण पहिचान नगरी बाहिरी रूपमा मात्र समस्या समाधान गर्न खोज्दा दीर्घकालीन परिणाम हासिल गर्न नसकिने उदाहरण दिँदै थापाले प्रणालीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले ‘सर्प सोझो पार्नुभन्दा दुलो सोझो पारे बाङ्गो सर्प पनि सोझै छिर्छ’ भन्ने उदाहरण प्रस्तुत गर्दै व्यक्ति वा पक्षलाई मात्र सुधार्न खोज्नुको सट्टा प्रणालीलाई नै व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।
‘हामीले समस्या देखिएको ठाउँमा मात्र उपचार खोज्ने होइन, समस्या उत्पन्न हुने कारण र संरचनामाथि पनि काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो। संस्थाले प्राकृतिक स्रोतसँग सम्बन्धित विवादमा संलग्न पक्षहरूलाई एउटै ठाउँमा ल्याएर संवादको वातावरण बनाउँदै आएको उहाँले जानकारी दिनुभयो। सो अवसरमा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र–नेपालले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई सम्मान तथा बधाई ज्ञापन गरेको थियो।
गोष्ठीमा संस्थाले हालसम्म सञ्चालन गरेका द्वन्द्व रूपान्तरणका अभियान, त्यसबाट प्राप्त सिकाइ तथा अनुभवबारे छलफल भइरहेको छ। विभिन्न क्षेत्रमा प्राकृतिक स्रोतको उपयोग, संरक्षण, पहुँच र व्यवस्थापनका क्रममा उत्पन्न भएका विवादलाई कसरी संवाद र सहकार्यका माध्यमबाट समाधान गर्ने भन्ने विषयमा सहभागीहरूले अनुभव आदान–प्रदान गरिरहेका छन्।
संस्थाले स्थानीयस्तरमा द्वन्द्व पहिचान, सरोकारवालाको सहभागिता, संवादको सहजीकरण र सहमतिका आधारमा समाधान खोज्ने अभ्यास गर्दै आएको जनाएको छ। यस्ता अभ्यासबाट समुदायमा विश्वासको वातावरण निर्माण गर्नुका साथै विवादलाई दीर्घकालीन द्वन्द्वमा परिणत हुनबाट रोक्न सहयोग पुग्ने संस्थाको विश्वास छ।

संस्थाका अध्यक्ष नारायणबहादुर खपाङ्गीको अध्यक्षतामा भएको गोष्ठीमा संस्थाका बोर्ड सदस्य, क्षेत्रीय संयोजक, राष्ट्रिय स्रोतव्यक्ति तथा सहजकर्ताहरूको सहभागिता रहेको छ। कार्यक्रममा संस्थाले विभिन्न क्षेत्रमा गरेका कामका अनुभव, चुनौती र आगामी कार्यदिशाबारे समेत छलफल भइरहेको छ।
कार्यक्रमको सञ्चालन संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत दीपकराज भट्टले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष कमला पोखरेलले राख्नुभएको थियो।


बहुसरोकारवाला द्वन्द्व रूपान्तरण अभियान, सिकाइ तथा अनुभव आदान–प्रदान गोष्ठी भक्तपुरको बोडेमा शनिबारदेखि सोमबारसम्म सञ्चालन हुने जनाइएको छ। गोष्ठीबाट प्राप्त सिकाइलाई आगामी कार्यक्रम तथा योजनामा समेट्दै द्वन्द्व रूपान्तरणको अभियानलाई थप प्रभावकारी बनाउने संस्थाको लक्ष्य रहेको छ।

१८ आश्विन २०८३, आईतवार ०८:३३