काठमाडौं — सरकारी अनलाइन ठेक्का प्रणालीमा अनधिकृत प्रवेश गरी प्रतिस्पर्धात्मक प्रक्रियामा चलखेल गरेको आरोपमा नौ जना निर्माण व्यवसायी पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। यसअघि पनि यही प्रकरणमा ठेकेदार र ह्याकरसहित २२ जनाविरुद्ध मुद्दा चलाइएको थियो। दोस्रो चरणको अनुसन्धानका क्रममा थप निर्माण व्यवसायी पक्राउ परेको सिआइबीले जनाएको छ।
अनुसन्धानका क्रममा ठेक्काका लागि प्रस्ताव बुझाउने समय सकिएपछि प्रतिस्पर्धी कम्पनीहरूले पेश गरेका आर्थिक प्रस्तावमा अनधिकृत पहुँच पुर्याउने र त्यसअनुसार आफ्नो प्रस्ताव संशोधन गरी ठेक्का हात पार्ने गरेको खुलेको प्रहरीको भनाइ छ।
यसका लागि नेपालबाहिर रहेका ह्याकरको समेत प्रयोग गरिएको र उनीहरूलाई क्रिप्टो करेन्सीमार्फत रकम भुक्तानी गरिएको विवरण यसअघि भएको अनुसन्धानबाट खुलेको थियो।
सिआइबी प्रमुख एआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार अनलाइन ठेक्का प्रणालीमा ह्याकिङ गर्ने कार्यमा संलग्न केही व्यक्तिमाथि समेत अनुसन्धान जारी छ।
प्रहरीका अनुसार सहरी विकास मन्त्रालयका कम्प्युटर अपरेटर दिवाकर देउजालाई घटनाको मुख्य योजनाकारका रूपमा पहिचान गरिएको छ। उनी हाल कारागारमा रहेको प्रहरीले जनाएको छ।
१८ आश्विन २०८३, आईतवार ११:५१