काठमाडौं, २७ असोज २०८३
दसैँ नजिकिएसँगै काठमाडौंको कलंकीस्थित खसीबजारमा खसीबोका र च्याङ्ग्रा भित्रिने क्रम बढ्न थालेको छ। सर्लाही, विराटनगरलगायत विभिन्न स्थानबाट पशु ल्याउन थालिएपछि बजारमा दसैँको चहलपहल बढेको छ।
यस वर्ष बाढीपहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध हुँदा खसीबोका तथा च्याङ्ग्राको ढुवानी प्रभावित भएको छ। व्यवसायीका अनुसार सडक अवरोध र यातायातमा देखिएको कठिनाइका कारण मागअनुसार पशु बजारमा ल्याउन समस्या भइरहेको छ। मंगलबारदेखि आपूर्ति बढ्न थाले पनि पर्याप्त मात्रामा खसीबोका उपलब्ध हुने निश्चित भइसकेको छैन।
आपूर्तिमा आएको समस्यासँगै यस वर्ष खसीबोका तथा मासुको मूल्य पनि गत वर्षको तुलनामा बढेको छ। कलंकी बजारमा जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ८५० देखि ८६० रुपैयाँसम्म पुगेको छ। गत वर्ष दसैँमा यसको मूल्य प्रतिकिलो ७५० रुपैयाँ रहेको थियो।
त्यस्तै, च्याङ्ग्राको मूल्य प्रतिकिलो १ हजार २५० देखि १ हजार ३५० रुपैयाँसम्म पुगेको छ। तयारी खसीको मासु प्रतिकिलो १ हजार ६०० देखि १ हजार ७०० रुपैयाँमा बिक्री भइरहेको छ। गत वर्ष यस्तो मासुको मूल्य प्रतिकिलो १ हजार ३०० देखि १ हजार ४०० रुपैयाँसम्म थियो।
यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री नगर्ने भएपछि उपभोक्ताले निजी व्यवसायीमा निर्भर हुनुपर्ने अवस्था छ। सडक अवरोध, ढुवानी खर्चमा वृद्धि र बजारमा सीमित आपूर्तिका कारण आगामी दिनमा मूल्य थप बढ्न सक्ने चिन्ता व्यवसायीले व्यक्त गरेका छन्।
दसैँमा मासुको माग बढ्ने भएकाले कलंकी बजारमा पशु भित्र्याउने र बिक्री गर्ने तयारी तीव्र पारिएको छ। तर, आपूर्ति सहज नहुँदा उपभोक्ताले यस वर्ष खसीबोका तथा मासु खरिदमा थप रकम खर्च गर्नुपर्ने देखिएको छ।
२७ आश्विन २०८३, मंगलवार १६:१२