चौतारामा खाद्यान्न ढुवानी गर्ने सवारीसाधनको चेकजाँच

सुनिता रखाल, चौतारा ।

चौतारा साँगाचोकगढी नगरपालिकाले नगर क्षेत्रभित्र खाद्यान्न ढुवानी गर्ने साना तथा ठूला सवारीसाधनको चेकजाँच तथा अनुगमन सुरु गरेको छ ।

नगरपालिकाकी उपप्रमुख सीता थापाको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बखरेल तथा उद्योग वाणिज्य संघका सदस्य कुमार थापालगायतको टोलीले खाद्यान्न ढुवानी गर्ने सवारीसाधनलाई लक्षित गरी बन्देउ नाकामा आज चेकजाँच गरेको हो ।

नगर क्षेत्रभित्र भित्रिने खाद्यान्नको गुणस्तर, ढुवानी प्रक्रिया तथा सम्बन्धित कागजातलगायतका विषयमा निगरानी गर्ने उद्देश्यले चेकजाँच गरिएको नगरपालिकाले जनाएको छ । चाडपर्वको समयमा खाद्यान्नको माग बढ्ने भएकाले उपभोक्ताको हितलाई ध्यानमा राख्दै ढुवानी हुने खाद्यान्न तथा त्यसमा संलग्न सवारीसाधनको अनुगमनलाई प्राथमिकता दिइएको हो ।

चेकजाँचका क्रममा खाद्यान्न बोकेर आउने साना–ठूला सवारीसाधन रोकिएर आवश्यक जाँच गरिएको थियो । बजारमा बिक्री हुने खाद्यान्न गुणस्तरीय, सुरक्षित तथा निर्धारित मापदण्डअनुसार हुनुपर्नेमा नगरपालिकाले जोड दिएको छ ।

नगरपालिकाका अनुसार आज बन्देउ नाकामा खाद्यान्न ढुवानी गर्ने सवारीसाधनको चेकजाँच तथा अनुगमन गरिएको छ भने भोलि पनि सोही नाकामा अनुगमनलाई निरन्तरता दिइनेछ । अनुगमनका क्रममा देखिएका समस्या तथा नियमविपरीतका गतिविधिबारे आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ ।

उपप्रमुख थापाको नेतृत्वमा हुने अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघलगायत सम्बन्धित निकायको सहभागिता रहनेछ । चेकजाँचमार्फत खाद्यान्नको आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउनुका साथै उपभोक्तालाई गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने उद्देश्य रहेको बताइएको छ ।

२० आश्विन २०८३, मंगलवार १९:४२