नेपाल थोक युवा क्लबको प्रथम साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन सम्पन्न

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–१३, फटकशिलामा रहेको नेपाल थोक युवा क्लबको प्रथम साधारण सभा, नवनिर्मित भवन उद्घाटन तथा विजयादशमी र शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

२०८० सालमा स्थापना भएको क्लबले स्थानीय युवालाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा खेलकुद गतिविधिमा सक्रिय बनाउने उद्देश्य राखेको छ। क्लबको नवनिर्मित भवन उद्घाटनसँगै संस्थागत गतिविधि सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा वडा सदस्य उद्वब प्रसाद ढुङ्गानाले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य, स्थानीयवासी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

क्लबको साधारण सभाले सरिता डोटेल आचार्य, उपाध्यक्षमा ईश्वर डोटेल, सचिवमा सविन डोटेल सहसचिब कुशल डोटेल र कोषाध्यक्षमा निरोज डोटेल रहेका छन्। त्यसैगरी अन्य सदस्यहरूमा जीवन डोटेल, निराज डोटेल, सजिना डोटेल,सङ्गम डोटेल, साजन डोटेल र पुजा ढुङ्गाना रहनु भएको छ ।

प्रथम साधारण सभामा क्लबको संस्थागत विकास, भावी कार्ययोजना, युवाको नेतृत्व क्षमता अभिवृद्धि तथा सामाजिक सेवामा युवाको सहभागिता बढाउने विषयमा छलफल गरिएको थियो। स्थानीयस्तरमा युवालाई संगठित गर्दै समाजको विकासमा योगदान पुर्‍याउने उद्देश्यले क्लबले आगामी दिनमा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

नवनिर्मित भवन क्लबका बैठक, छलफल, तालिम तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्ने महत्त्वपूर्ण केन्द्र बन्ने विश्वास गरिएको छ। आफ्नै भवन भएपछि युवाहरूलाई संगठित हुन र सामाजिक गतिविधि सञ्चालन गर्न थप सहज हुने अपेक्षा गरिएको छ।

विजयादशमी तथा शुभ दीपावलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमले आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप बलियो बनाउने सन्देश दिएको छ।

स्थानीय युवाको एकता, सक्रियता र सामूहिक प्रयासबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वाससहित क्लबले आगामी दिनमा सामाजिक सेवा, खेलकुद, सरसफाइ, जनचेतना अभिवृद्धि तथा युवाको क्षमता विकासका कार्यक्रमलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।

नेपाल थोक युवा क्लबको प्रथम साधारण सभा तथा भवन उद्घाटन कार्यक्रमले फटकशिलामा युवा एकता र संस्थागत विकासलाई थप सुदृढ बनाउने आधार तयार गरेको छ।

२३ आश्विन २०८३, शुक्रबार १०:३६