सिन्धुपाल्चोक, असोज २८। सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले घरमा हुने सुत्केरीको संख्या शून्यमा झार्दै सबै गर्भवतीलाई स्वास्थ्य संस्थामै प्रसूति गराउने लक्ष्यसहित कार्यक्रम अघि बढाएको छ। यसै उद्देश्यले गाउँपालिकामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
बागमती प्रदेशमै घरमा हुने सुत्केरी अन्त्य गर्ने लक्ष्यसहित पहल थालेको गाउँपालिकाले मातृ मृत्युदर घटाउने र सुरक्षित प्रसूति सेवामा महिलाको पहुँच बढाउने प्रयास गरिरहेको जनाएको छ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण शाहका अनुसार दिगो विकास लक्ष्य हासिल गर्नुका साथै मातृ मृत्युदर घटाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। सुरक्षित मातृत्व सुनिश्चित गर्न गर्भवती महिलालाई स्वास्थ्य संस्थामा प्रसूति गराउने वातावरण बनाउन आवश्यक रहेको उनले बताए।
गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले स्वास्थ्यकर्मीको ज्ञान, सीप र अनुभवलाई प्रभावकारी रूपमा परिचालन गर्न सके स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधार ल्याउन सकिने धारणा राखे। उनले स्वास्थ्य सेवा प्रवाहलाई परिणाममुखी बनाउन कार्यशैलीमा सुधार गर्दै जिम्मेवारीअनुसार प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा गाउँपालिकाका स्वास्थ्यकर्मी तथा सामाजिक विकास संयोजक रमेश बोहोरालगायतको सहभागिता रहेको थियो।
गाउँपालिकाले घरमै हुने प्रसूति रोक्दै स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी सेवा सुनिश्चित गर्ने लक्ष्य लिएको छ। यस अभियानले आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ।
२९ आश्विन २०८३, बिहीबार ०९:०७