मातृ मृत्यु शून्य, पूर्ण खोप सुनिश्चिततामा सफलता; कुपोषण न्यूनीकरणदेखि स्वास्थ्य जनशक्ति व्यवस्थापनसम्म चुनौती
जनतापत्र, चौतारा ।

सिन्धुपाल्चोकमा स्वास्थ्य सेवा र पोषणको अवस्था सुधार गर्न बहुक्षेत्रीय समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। स्वास्थ्य तथा पोषण एकअर्काका परिपूरक विषय भएकाले स्वास्थ्य संस्था, स्थानीय तह, शिक्षा, कृषि, खानेपानी तथा सरसफाइ क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ छ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न ‘बहुक्षेत्रीय पोषण कार्यक्रमको जिल्लास्तरीय समीक्षा गोष्ठी’ मा सहभागीहरूले पोषण सुधारलाई स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारीका रूपमा लिन नहुने बताएका हुन्। जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाको स्वास्थ्य अवस्था, पोषण कार्यक्रमको प्रगति, उपलब्धि र आगामी कार्यदिशाबारे छलफल गरिएको थियो।
कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख श्रेष्ठले गमलामा पानी हालेर गर्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पद्मनाथ नेपाल, जिल्ला समन्वय अधिकारी सीता परियार, जिसस सदस्यहरू बलराम केसी, तारा नेपाली, एकमाया, सेतो गहतराज र जितबहादुर कार्कीलगायतको उपस्थिति थियो।
त्यसैगरी जनस्वास्थ्य कार्यालयका प्रमुख, जिल्लाका ६ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, स्वास्थ्य, महिला तथा शिक्षा शाखाका प्रमुख एवं प्रतिनिधि, पोषण सहजकर्ता, गैरसरकारी संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
जिल्ला समन्वय अधिकारी सीता परियारले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै पोषण सुधारका लागि सबै क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। गोष्ठीमा जिल्ला समन्वय अधिकारी, जनस्वास्थ्य कार्यालयका प्रमुख तथा सहभागी ६ स्थानीय तहका प्रतिनिधिले आ–आफ्नो क्षेत्रको पोषण कार्यक्रमको प्रगति, अवस्था र चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए।
स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि
यसैबीच जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभर सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सार्वजनिक गरेको छ। मंसिर ९ र १० गते सिन्धु बिच रिसोर्टमा आयोजित दुईदिने समीक्षा कार्यक्रममा जिल्लाको स्वास्थ्य अवस्था, सेवा प्रवाह, कार्यक्रमको उपलब्धि र चुनौतीबारे विस्तृत छलफल गरिएको थियो।
कुल २ लाख ४० हजार ६६० जनसंख्या रहेको जिल्लाले स्वास्थ्य क्षेत्रमा केही महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा मातृ मृत्यु शून्यमा झरेको छ। अघिल्ला दुई आर्थिक वर्षमा एक–एक जना आमाको मृत्यु भएकोमा समीक्षा अवधिमा मातृ मृत्यु नभएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै जिल्लाका १२ वटै स्थानीय तहमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरी २०८३ असार २९ गते सिन्धुपाल्चोकलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन दिइने एचपिभी खोपको पहुँचसमेत ९८ प्रतिशत पुगेको छ।

यद्यपि खोप खेर जाने दर भने चुनौतीका रूपमा देखिएको छ। जिल्लामा बीसीजी खोपको खेर जाने दर ९१.६५ प्रतिशत र दादुरा–रुबेला खोपको खेर जाने दर ६८.४६ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।
बजेट खर्च र जनशक्ति अभाव
जनस्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा संघीय तथा प्रदेश सरकारबाट कुल ५ करोड ९९ लाख ३० हजार ६५५ रुपैयाँ बजेट विनियोजन भएको थियो। त्यसमध्ये ४ करोड ७३ लाख ७२ हजार १०६ रुपैयाँ खर्च भएको छ। यो कुल बजेटको ७९.०४ प्रतिशत हो। भौतिक प्रगति भने ९३ प्रतिशत पुगेको छ।
जिल्लामा एक प्रादेशिक अस्पताल, ६ आधारभूत अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र, ७४ स्वास्थ्य चौकी, ४१ सामुदायिक स्वास्थ्य इकाइ र ५७ बर्थिङ सेन्टरमार्फत स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ। स्वास्थ्य सेवामा ७११ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालित छन्।
तर जनस्वास्थ्य कार्यालयमा स्वीकृत १४ दरबन्दीमध्ये ६ जना मात्र कार्यरत छन्। यसले कार्यालयको जनशक्ति पदपूर्ति ४२.८५ प्रतिशतमा सीमित रहेको देखाउँछ। जनशक्ति अभावले कार्यक्रम कार्यान्वयन, अनुगमन तथा सेवा व्यवस्थापनमा कठिनाइ भइरहेको समीक्षा कार्यक्रममा औँल्याइएको छ।
पोषण र मातृ स्वास्थ्यमा बहुपक्षीय जिम्मेवारी
जिल्लामा एक हजार १५३ जना महिला सुत्केरी भएकामध्ये एक हजार १३२ जनाले स्वास्थ्य संस्थामा प्रसूति सेवा लिएका छन् भने २१ जना घरमै सुत्केरी भएका छन्। अति सीमान्तकृत तथा लोपोन्मुख समुदायका आमालाई संस्थागत सुत्केरी र पूर्ण खोपका लागि प्रोत्साहनस्वरूप प्रतिआमा पाँच हजार रुपैयाँ उपलब्ध गराइएको छ।
पोषण सुधारका लागि गर्भवती तथा सुत्केरी महिला, बालबालिका र किशोरीको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ। सन्तुलित भोजन, स्वच्छ खानेपानी, सरसफाइ, कृषि उत्पादन र स्वास्थ्य शिक्षाको पहुँच विस्तार नगरी कुपोषण न्यूनीकरण सम्भव नहुने सहभागीहरूको निष्कर्ष छ।
कार्यक्रमको समापन गर्दै जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठले पोषण स्वास्थ्य क्षेत्रको मात्र एकल जिम्मेवारी नभएको बताउनुभयो। बालबालिकालाई स्वस्थ र तन्दुरुस्त बनाउन सन्तुलित आहारसँगै स्वच्छ खानेपानी, सरसफाइ, गुणस्तरीय शिक्षा, कृषि उत्पादन र महिला सशक्तीकरणको उत्तिकै महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो।
पोषणमा गरिएको लगानी भविष्यको स्वस्थ र उत्पादनशील जनशक्ति निर्माणको आधार भएको उल्लेख गर्दै उहाँले नीतिगत तहदेखि कार्यान्वयन तहसम्मका सबै सरोकारवाला निकायबीच समन्वय बलियो बनाउन आग्रह गर्नुभयो। कुपोषणमुक्त समाज निर्माणका लागि स्थानीय तह र सम्बन्धित कार्यालयले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
नसर्ने रोग र मानसिक स्वास्थ्य अर्को चुनौती
स्वास्थ्य समीक्षा प्रतिवेदनअनुसार जिल्लामा नसर्ने रोगको जोखिम पनि बढ्दै गएको छ। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत ९ हजार ८२९ जनाको स्वास्थ्य परीक्षण गर्दा २ हजार ६३९ जनामा उच्च रक्तचाप र एक हजार ३३४ जनामा सम्भावित मधुमेह देखिएको छ।
त्यस्तै ग्यास्ट्राइटिस, ढाड तथा जोर्नी दुख्ने समस्या, चोटपटक र खोकी बहिरङ्ग सेवामा आउने बिरामीका प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिएका छन्। जिल्लामा डेंगीका १८१, स्क्रब टाइफसका ५३ तथा सर्पदंशका १०२ बिरामीको उपचार गरिएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार समीक्षा अवधिमा ८८ जनाले आत्महत्या गरेको तथ्यांकसमेत प्रस्तुत गरिएको थियो।
विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत जिल्लाका १०२ माध्यमिक विद्यालयमध्ये ४९ विद्यालयमा विद्यालय नर्स परिचालन गरिएको छ। उक्त कार्यक्रमबाट एक लाख १४ हजार ८४४ विद्यार्थीले प्राथमिक उपचार, स्वास्थ्य परामर्श, महिनावारी स्वच्छता शिक्षा तथा आँखा र दाँत परीक्षण सेवा प्राप्त गरेका छन्।
समन्वय र प्रभावकारी कार्यान्वयनमा जोड
स्वास्थ्य तथा पोषण कार्यक्रमको समीक्षा गर्दै सहभागीहरूले बजेट समयमै निकासा नहुनु, स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहनु, बिग्रिएका स्वास्थ्य उपकरण मर्मत नहुनु र दुर्गम क्षेत्रमा घरमै सुत्केरी हुने प्रचलन कायम रहनुलाई प्रमुख चुनौतीका रूपमा औँल्याएका छन्।
स्वास्थ्य बीमामा जिल्लाका ९ हजार २४४ परिवार आबद्ध भए पनि नवीकरण दर ५५.१७ प्रतिशत मात्र रहेको छ। यसलाई सुधार गर्न नागरिकमा स्वास्थ्य बीमाको महत्त्वबारे सचेतना बढाउनुपर्ने आवश्यकता देखिएको छ।
मेलम्ची नगरपालिकामा एक जिल्ला एक स्वस्थ सहर, पाँचपोखरी थाङपाल गाउँपालिकामा एक स्थानीय तह एक नमुना स्वास्थ्य संस्था तथा बलेफी गाउँपालिकाको जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा विस्तारको प्रक्रिया अघि बढाइएको छ।
स्वास्थ्य र पोषणका कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्न सके मात्र अपेक्षित उपलब्धि हासिल गर्न सकिने निष्कर्षसहित गोष्ठी सम्पन्न भएको हो। जिल्ला समन्वय समितिका शाखा अधिकृत अनिलकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा जिसस प्रवक्ताले स्वागत मन्तव्य राख्नुभएको थियो।
समीक्षाले जिल्लामा स्वास्थ्य सेवा विस्तारसँगै पोषण सुधार, जनशक्ति व्यवस्थापन, नियमित अनुगमन र स्थानीय तहबीचको समन्वयलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएको छ। स्वास्थ्य र पोषणमा गरिने लगानीलाई बालबालिकाको भविष्य तथा जिल्लाको समग्र विकाससँग जोडेर अघि बढाउनुपर्ने देखिएको छ।
१० मंसिर २०८३, बुधबार १७:१५