काठमाडौं, मंसिर ९। त्रिभुवन विश्वविद्यालयले ६ सय ८१ वटा क्याम्पसमा नयाँ शैक्षिक कार्यक्रम, विषय, सेक्सन तथा विद्यार्थी कोटा विस्तार गर्ने प्रक्रिया अघि बढाएपछि विश्वविद्यालयको छनोट मापदण्डमाथि प्रश्न उठेको छ।
आवश्यक भवन, भौतिक पूर्वाधार, शिक्षक र विद्यार्थीसमेत पर्याप्त नभएका क्याम्पसलाई कार्यक्रम थप्न योग्य ठहर गरिएको भन्दै विद्यार्थी प्रतिनिधि तथा प्राध्यापकहरूले आपत्ति जनाएका छन्।
काठमाडौं उपत्यकाका आंगिक क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षहरूले उपकुलपति भोला थापालाई भेटेर मापदण्ड र सम्बन्धनसम्बन्धी विनियमविपरीत क्याम्पस छनोट गरिएको भन्दै ध्यानाकर्षण गराएका छन्। विश्वविद्यालयले तोकेको योग्यता पूरा नगरेका संस्थालाई समेत योग्य सूचीमा समावेश गरिएको उनीहरूको आरोप छ।
त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु अध्यक्ष दीपकराज जोशीले शैक्षिक तथा भौतिक पूर्वाधार अभावका कारण खारेजीको अवस्थामा पुग्नुपर्ने क्याम्पसलाई समेत नयाँ विषय र कार्यक्रम थप्ने सूचीमा राखिएको बताए। एउटै भवन तथा परिसरमा दुई फरक विश्वविद्यालयका कार्यक्रम सञ्चालन गरिरहेका संस्थालाई पनि योग्य ठहर गरिएको उनको भनाइ छ।
पाटन क्याम्पसका स्ववियु अध्यक्ष रोहित कपालीले पनि आफ्नै शिक्षक, भवन र पर्याप्त विद्यार्थी नभएका क्याम्पसलाई कार्यक्रम विस्तारका लागि योग्य मान्नु विश्वविद्यालयको नियमनकारी भूमिकामाथि प्रश्न उठाउने विषय भएको बताए। विनियम उल्लंघन गर्ने क्याम्पसलाई थप कार्यक्रमको अनुमति दिनुको सट्टा सम्बन्धन खारेजीसम्मको कारबाही हुनुपर्ने उनको माग छ।
विद्यार्थी प्रतिनिधिहरूले विवादित सूची पुनरावलोकन गर्न, कार्यक्रम विस्तारको प्रक्रिया रोक्न र निष्पक्ष तथा पारदर्शी अनुगमन व्यवस्था लागू गर्न माग गरेका छन्। माग सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।
विवाद उठेपछि त्रिवि योजना निर्देशनालयले सम्बन्धनप्राप्त क्याम्पस तथा कलेजलाई स्वघोषणापत्र बुझाउन निर्देशन दिएको छ। एउटै परिसरमा त्रिभुवन विश्वविद्यालयबाहेक अन्य स्वदेशी वा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन नगरेको आधिकारिक घोषणा गर्नुपर्ने व्यवस्था गरिएको हो।
विश्वविद्यालय कार्यकारी परिषद्को कात्तिक २१ गतेको निर्णयअनुसार कार्यक्रम, विषय, सेक्सन र विद्यार्थी कोटा थप्न न्यूनतम मापदण्ड पूरा गरी सूचीमा परेका क्याम्पसले मंसिर १५ भित्र स्वघोषणापत्र बुझाउनुपर्नेछ। घोषणापत्रमा दिइएको विवरण गलत प्रमाणित भए कारबाही भोग्न तयार रहेको प्रतिबद्धतासमेत जनाउनुपर्ने निर्देशन छ।
त्रिविले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा व्यवस्थापन संकायका स्नातक तथा स्नातकोत्तर तहका २७५ क्याम्पस छन्। मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातक तहका १०४ र स्नातकोत्तर तहका ४० क्याम्पस समेटिएका छन्।
त्यसैगरी, विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातक तहका १२८, शिक्षाशास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहका ४८, एमफिलका १४ र स्नातक तहका ७२ क्याम्पसलाई कार्यक्रम विस्तारको प्रक्रियामा राखिएको छ।
त्रिविका प्रवक्ता नविन्द्र भण्डारीले भने सार्वजनिक सूचीलाई अन्तिम निर्णयका रूपमा बुझ्न नहुने बताएका छन्। उनका अनुसार आन्तरिक अनुगमनका आधारमा कार्यक्रम विस्तारका लागि योग्य देखिएका क्याम्पसको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो।
क्याम्पस छनोटबारे कुनै गुनासो वा दाबीविरोध भए उजुरी दिन सकिने र त्यसको सुनुवाइपछि आवश्यक छानबिन गरिने उनले बताए। सम्बन्धित डिन कार्यालयले सिफारिस गरेका क्याम्पसको नाम योजना निर्देशनालयले कार्यकारी परिषद्मार्फत अघि बढाएको हो।
१० मंसिर २०८३, बुधबार १३:१३