जुगलको हिमाली भूगोलमा धार्मिक विश्वास र पर्यटनको आकर्षण

सिन्धुपाल्चोक, मंसिर ९। हिमालका मनोरम दृश्य, झरना, नीलो पोखरी, गुफा र धार्मिक किंवदन्तीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित ब्रह्मकपाली क्षेत्रलाई प्रकृति र आस्थाको विशेष गन्तव्य बनाएको छ। करिब ४ हजार ७ सय मिटर उचाइमा रहेको यो स्थान बौद्ध र हिन्दू धर्मावलम्बी दुवैका लागि महत्त्वपूर्ण मानिन्छ।

जुगल हिमशृंखलाका ११ वटा चुचुराको आधार क्षेत्रनजिक रहेको ब्रह्मकपालीबाट हिमाल, ब्रह्मायणी नदीको मुहान, नीलम पोखरी, गुफा र फराकिला हिमाली मैदान देख्न सकिन्छ। यहाँको प्राकृतिक सौन्दर्यसँगै धार्मिक मान्यताले पनि पर्यटक र तीर्थयात्रीलाई आकर्षित गर्न थालेको छ।

काठमाडौंबाट करिब १४० किलोमिटर दूरीमा पर्ने जुगल क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटकको आवागमन बढेको छ। जुगल गाउँपालिका पर्यटन समितिका संयोजक मिलन तामाङका अनुसार पदयात्रा, हिमाल अवलोकन र धार्मिक स्थलको अध्ययनका लागि यहाँ आउनेको संख्या बढ्दै गएको छ।

जुगल भ्रमण वर्ष २०८३ का क्रममा एक साताअघि पण्डित नारायण ढुंगानासहितको टोलीले ब्रह्मायणी नदीको शिर क्षेत्रमा पुगेर धार्मिक तथा सांस्कृतिक महत्त्वबारे अध्ययन गरेको थियो। टोलीमा पुष्प तिमिल्सिना, सञ्चारकर्मी विक्रम श्रेष्ठ, राज अधिकारी र अच्युत अधिकारीलगायत सहभागी थिए।

बौद्ध धर्मग्रन्थमा यस क्षेत्रलाई गुरु रिन्पोछे अर्थात् पद्मसम्भवसँग सम्बन्धित पवित्र गुप्त भूमि ‘भे–युल पेमाछाल’ का रूपमा उल्लेख गरिएको छ। नेपेमाछाल, छिन्दाङ, पाल्दोथाङ र नेखर्कजस्ता स्थानले पनि धार्मिक महत्त्व बोकेका छन्।

बौद्ध धर्मका अनुसन्धानकर्ता तथा प्राध्यापक मोहन लामाका अनुसार नेपेमाछालको अर्थ कमलको फूलभित्र रहेको समथर उपत्यका हो। हिमचुचुराले कमलको फूलको आकारमा घेरेको यस क्षेत्रलाई ध्यान, जप र धार्मिक साधनाका लागि महत्त्वपूर्ण तीर्थस्थल मानिने उनले बताए। गुरु रिन्पोछेको जीवनीमा विद्यावारिधि गरिरहेका लामाले स्थानीय लामागुरुहरूसँग बौद्ध धर्म र तीर्थस्थलको महत्त्वबारे अन्तरक्रिया तथा प्रशिक्षणसमेत गरेका थिए।

हिन्दू धार्मिक ग्रन्थ स्कन्द पुराणमा पनि जुगल हिमाल र ब्रह्मतीर्थको उल्लेख रहेको पण्डित नारायण ढुंगानाले बताए। उनका अनुसार पुराणमा ब्रह्मायणी नदीको उद्गमस्थल ब्रह्मकपालीलाई पार्वती र ब्रह्माले स्नान तथा तपस्या गरेको स्थानका रूपमा वर्णन गरिएको छ। क्षेत्रको अध्ययनका क्रममा बाटोमा भेटिएका शिलामा श्री र ॐ का आकृति तथा झरनाको फेदमा शिवलिंगजस्ता संरचना देखिएको उनले बताए।

स्कन्द पुराणको हिमवत् खण्डमा भगवान् शिवलाई पति पाउन माता पार्वतीले हिमाली क्षेत्रमा तपस्या गरेको प्रसंगसँग ब्रह्मतीर्थलाई जोडिएको छ। जुगल हिमालयको फेदीबाट निस्कने नदीलाई ग्रन्थमा ब्रह्मनदी भनिएको छ। गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोका अनुसार ब्रह्मायणी र सुनकोशीको संगमस्थललाई कपिलेश्वर तीर्थका रूपमा उल्लेख गरिएको छ, जहाँ अहिले कपिलेश्वर महादेवको मन्दिर छ।

पर्यटन प्रवर्द्धनसँगै यस क्षेत्रको पहुँच र बसोबास सुविधा पनि विस्तार हुँदै गएको छ। काठमाडौंबाट करिब तीन दिनको यात्रामा पुगिने तेम्बाथान, दिपु र तेगासम्म सडक पहुँच सहज भएको छ। त्यहाँबाट करिब पाँच घण्टा पैदल हिँडेपछि छेन्दाङ र नेपेमाछाल पुग्न सकिन्छ। स्थानीयस्तरमा साना होटल र होमस्टे सञ्चालनमा आएकाले पर्यटकलाई बस्न सहज भएको पर्यटन समितिका संयोजक तामाङले बताए।

उनका अनुसार भ्रमण वर्ष सुरु भएको एक महिनामै सात सयभन्दा बढी पर्यटक जुगल क्षेत्रमा पुगेका छन्। अधिकांश पर्यटक नेपेमाछालबाट थप तीन घण्टाको पैदल यात्रामा पुगिने ४ हजार ५ सय मिटर उचाइको बुम्बाशेर्बु अर्थात् जुगल हिमाल आधार शिविरसम्म पुग्न चाहन्छन्।

जुगल गाउँपालिकाले असोज २७ देखि भ्रमण वर्ष २०८३ सुरु गरेपछि हिमाली बस्ती र ब्रह्मायणी करिडोरमा पर्यटकको चहलपहल बढेको वडा नम्बर ३ का अध्यक्ष लक्ष्मण दोङले बताए। उनका अनुसार बलेफी बजारदेखि तेम्बाथानसम्म पर्यटकको आवागमन बढ्दा स्थानीय युवाले गाइड र भरियाका रूपमा काम पाएका छन् भने ग्रामीण बजारसमेत चलायमान भएको छ।

गाउँपालिकाको २०औँ गाउँसभाले घोषणा गरेको भ्रमण वर्ष बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले उद्घाटन गरेका थिए। आगामी पुस मसान्तसम्म सञ्चालन हुने अभियानले जुगललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनाउने गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए।

उनका अनुसार हालसम्म ६ वटा समूहले जुगल हिमाल आरोहणको प्रयास गरिसकेका छन्। जुगल हिमशृंखलाको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा भने पहिलो पटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोहीले कात्तिक १४ मा शिखर चुम्दै पहिलो आरोहणको इतिहास बनाएका थिए। अहिले बेलायत, अमेरिका, जापान र कोरियाका पर्वतारोही पनि जुगल पुगिरहेका छन्।

गुम्बा र तेम्बाथानका युवाले पर्यटकलाई पदयात्रामा सहयोग गर्ने, गाइड गर्ने र भरियाको कामबाट आम्दानी गर्न थालेका छन्। गाउँपालिकाले जुगल भ्यु प्वाइन्ट, सिन्दुर्चे, अमिलो पानी, मञ्जुश्री पार्क, डल्ले पोखरी र दोर्बु पोखरीलगायत स्थानलाई पनि पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने योजना बनाएको छ। जुगल आधार शिविर, नेपेमाछाल, श्याबल पोखरी, बुम्बाशेर्बु, तिलमान पास र ताक्पदिङ क्षेत्रलाई समेत पर्यटनको सम्भावना बोकेका स्थलका रूपमा अघि सारिएको छ।

१० मंसिर २०८३, बुधबार १५:२२