काठमाडौं, मंसिर ९। विश्वभर प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाले आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट ज्यान गुमाउने गरेको तथ्य सार्वजनिक भएको छ। संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय र संयुक्त राष्ट्रसङ्घीय महिला निकायको प्रतिवेदनअनुसार सन् २०२४ मा मात्रै विश्वभर करिब ५० हजार महिला तथा बालिकाको यसरी हत्या भएको थियो।
प्रतिवेदनले यस्तो हत्याको दैनिक औसत संख्या १३७ रहेको देखाएको छ। महिला तथा बालिकामाथि हुने हिंसाको सबैभन्दा गम्भीर रूप हत्या भए पनि यसको पछाडि लामो समयदेखिको दुर्व्यवहार, धम्की, नियन्त्रण र असमान शक्ति सम्बन्ध जोडिने गरेको उल्लेख गरिएको छ।
नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा सार्वजनिक तथ्यांकले लैङ्गिक हिंसाको भयावह अवस्था उजागर गरेको छ। यो दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ।
महिला तथा बालिकामाथिको हिंसालाई मानव अधिकारको गम्भीर उल्लङ्घनका रूपमा लिँदै संयुक्त राष्ट्रसङ्घले यसको रोकथामका लागि कानुनी व्यवस्था, न्यायमा पहुँच र जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ।
महिलामाथि हुने विभेद र हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रियस्तरमा विभिन्न प्रयास भएका छन्। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि पारित गरेको थियो। त्यसपछि सन् १९९३ मा महिलाविरुद्धको हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरिएको थियो।
नोभेम्बर २५ लाई हिंसाविरुद्धको दिवसका रूपमा मनाउन सन् १९८१ देखि महिला अधिकारकर्मीले अभियान चलाउँदै आएका थिए। सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा राजनीतिक गतिविधिमा संलग्न मिराबल दिदीबहिनीको हत्या भएको घटनाको सम्झनामा यो मिति छनोट गरिएको हो।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९९ डिसेम्बर १७ मा प्रस्ताव पारित गर्दै नोभेम्बर २५ लाई महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा औपचारिक मान्यता दिएको थियो। त्यसयता यस दिन सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय संस्था तथा गैरसरकारी संस्थालाई हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आह्वान गरिँदै आएको छ।
नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् मानव अधिकार दिवससम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि सञ्चालन हुन्छ। महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि सरकार, नागरिक समाज र समुदायको साझा प्रयास आवश्यक रहेको सन्देश अभियानले प्रवाह गर्दै आएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महिला तथा बालिकामाथिको हिंसा विश्वका सबै देश र समुदायलाई प्रभावित पार्ने लज्जास्पद विषय भएको बताएका छन्। उनले हिंसा रोकथामका प्रयासलाई तीव्र बनाउँदै पीडितलाई न्याय दिलाउन आह्वान गरेका छन्।
दिवसका अवसरमा जारी सन्देशमार्फत उनले हिंसापीडितलाई कानुनी सहायता, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श र सुरक्षित आश्रय उपलब्ध गराउन तथा हिंसाविरुद्ध बनेका कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारहरूलाई आग्रह गरेका छन्।
त्यस्तै, संयुक्त राष्ट्रसङ्घकी उपमहासचिव अमिना मोहम्मदले हिंसापीडित महिलाको संरक्षण र न्याय सुनिश्चित गर्नुका साथै दोषीलाई जवाफदेही बनाउने जिम्मेवारी सबै पक्षको रहेको बताएकी छन्।
१० मंसिर २०८३, बुधबार ०९:४१