सिन्धुपाल्चोकमा १२औँ उद्योग दिवस मनाइयो, औद्योगिक वातावरण सुधारमा जोड

सुनिता रखाल
सिन्धुपाल्चोक ।

‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ सिन्धुपाल्चोकमा १२औँ उद्योग दिवस–२०८३ विभिन्न कार्यक्रम गरी मनाइएको छ।

कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका–५ का वडा अध्यक्ष शिव श्रेष्ठले स्थानीय उत्पादन र उद्योग व्यवसायको प्रवर्द्धनबाट मात्रै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सकिने बताउनुभयो। उहाँले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्ने, स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याउने र उद्यमशीलताको विकास गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो। स्थानीय स्रोत, साधन र सीपको सदुपयोग गर्दै युवालाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्न सके रोजगारी सिर्जना र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो।

उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुपाल्चोकको आयोजनामा बुधबार चौतारा होमस्टेमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी, उद्यमी, पत्रकार तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेलले गर्नुभएको थियो।

कार्यक्रममा उद्योग क्षेत्रको विकास, स्थानीय उत्पादनको प्रवर्द्धन, उद्यमशीलताको विस्तार तथा उद्योगमैत्री वातावरण निर्माणका विषयमा छलफल गरिएको थियो। सो अवसरमा उद्योग क्षेत्रमा योगदान पुर्‍याउने चन्द्रलाल श्रेष्ठलाई सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीका रूपमा हरि विश्वकर्मालाई सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका उपाध्यक्ष उजार सिंह तामाङले उद्योग क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको बताउनुभयो। उहाँले उद्योगी व्यवसायीका समस्या समाधान र व्यवसाय प्रवर्द्धनका लागि उद्योग वाणिज्य संघ आवश्यक सहयोग गर्न तयार रहेको धारणा राख्नुभयो।

स्थानीय उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्दै उत्पादन र बजारीकरणमा देखिएका समस्या समाधान गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। उद्योग वाणिज्य संघले निजी क्षेत्र र सरकारी निकायबीच समन्वय गर्दै उद्यमीका समस्या उठान तथा समाधानका लागि भूमिका निर्वाह गर्ने पनि उहाँले बताउनुभयो।

त्यसैगरी साना तथा मझौला उद्यमी संघका प्रतिनिधि हरि श्रेष्ठले साना तथा मझौला उद्योगको विकासले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थ, सीप र स्रोतसाधनको उपयोग गरी उत्पादनमूलक उद्योग सञ्चालन गर्न सके रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भरता बढाउन सकिने उहाँको भनाइ थियो।

लघु उद्यमी संघकी अध्यक्ष सानुमाया गुरुङले लघु उद्यमीहरूले उत्पादनका क्रममा भोगिरहेका समस्या र चुनौतीबारे धारणा राख्नुभयो। उहाँले लघु उद्यमीलाई आवश्यक सीप, प्रविधि, लगानी तथा बजारको पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। उत्पादन गरे पनि बजारसम्म पुर्‍याउन र उचित मूल्य प्राप्त गर्न कठिनाइ हुने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रमका अध्यक्ष एवं कार्यालय प्रमुख त्रिपुरारी बख्रेलले उद्योग दिवसको महत्वबारे प्रकाश पार्दै स्थानीय उद्योग तथा व्यवसायको विकासका लागि सरकारी निकाय, निजी क्षेत्र र उद्यमीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

उहाँले स्थानीय स्रोत, साधन र सीपमा आधारित उद्योगलाई प्राथमिकता दिँदै स्वदेशी उत्पादनको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। उद्योग सञ्चालनका क्रममा देखिने प्रशासनिक तथा व्यावहारिक समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरिने धारणा पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले लघु, घरेलु तथा साना उद्योगले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुका साथै आर्थिक आत्मनिर्भरता बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उद्योगीलाई आवश्यक तालिम, प्रविधि, सहुलियतपूर्ण लगानी र बजार व्यवस्थापनमा सहयोग पुर्‍याउन सके जिल्लाको औद्योगिक विकासले गति लिने उनीहरूको भनाइ थियो।

नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन उद्योग क्षेत्रको विकास र विस्तार अपरिहार्य रहेको सहभागीहरूले औँल्याएका थिए। स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धन, स्थानीय उद्यमशीलताको विकास तथा उद्योगमैत्री नीति कार्यान्वयनले दिगो अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने उनीहरूको धारणा थियो।

१२औँ उद्योग दिवसले सिन्धुपाल्चोकका उद्योगी, व्यवसायी तथा उद्यमीलाई आफ्नो उत्पादन र व्यवसाय विस्तार गर्न प्रेरित गर्नुका साथै औद्योगिक वातावरण सुधारका लागि सरकारी तथा निजी क्षेत्रबीच सहकार्य र समन्वय आवश्यक रहेको सन्देश दिएको छ।

१० मंसिर २०८३, बुधबार १६:५५