पर्यटन पूर्वाधार विस्तारमा जोड : सिन्धुपाल्चोकका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यमा बजेट विनियोजन


सुनिता रखाल, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको समग्र विकासको प्रमुख आधार पर्यटन क्षेत्रलाई मान्दै चालु आर्थिक वर्षमा जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको पूर्वाधार विकासका लागि महत्वपूर्ण बजेट विनियोजन गरिएको छ। जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि गरी स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यसहित विभिन्न सडक तथा पुल निर्माण योजनाहरू अघि बढाइएको हो।


जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरू पाँचपोखरी, आमा याङ्ग्री, पाल्चोकी भगवती र भैरवकुण्डसम्म पुग्ने सडक मार्गलाई स्तरोन्नति तथा पूर्ण रूपमा सञ्चालनयोग्य बनाउने लक्ष्यका साथ बजेट व्यवस्थापन गरिएको सम्बन्धित पक्षले जनाएको छ। यी गन्तव्यहरूमा सहज पहुँच स्थापित भएसँगै पर्यटकको संख्या वृद्धि हुने र स्थानीय व्यवसाय, होटल, होमस्टे, कृषि उत्पादन तथा रोजगारीका अवसरहरूमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।


पूर्वाधार विकास अन्तर्गत जिरो किलो–हैपुङ–पार्टी भञ्ज्याङ–पाल्चेन हुँदै ओख्रेनी सडक तथा टेकनपुर–तैथली हुँदै खरिढुङ्गा सडक निर्माण तथा स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ। यसैगरी बलेफी–शेरा मोटरेबल पुल, लागर्चे–घुम्ले मोटरेबल पुल (पाँचपोखरी क्षेत्र), राचेडाँडा–सालघारी झोलुङ्गे पुल तथा पाल्चोक–गैराबेँशी–ग्याल्थुम झोलुङ्गे पुल निर्माणका योजनाहरू पनि बजेटमा समेटिएका छन्।


स्थानीयवासीले पर्यटन पूर्वाधारको विकाससँगै जिल्लामा आर्थिक गतिविधि बढ्ने, स्थानीय उत्पादनको बजार विस्तार हुने तथा रोजगारीका अवसर सिर्जना हुने अपेक्षा व्यक्त गरेका छन्। पर्यटनलाई विकासको प्रमुख आधार बनाउने लक्ष्यअनुसार यी योजनाहरूले सिन्धुपाल्चोकलाई प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ।

२६ जेष्ठ २०८३, मंगलवार १४:४०