टेकानपुरमा योजना तर्जुमा सम्बन्धी बस्तीस्तरीय छलफल सम्पन्न

जनतापत्र सिन्धुपाल्चोक ।
टेकानपुरमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को योजना तथा कार्यक्रम तर्जुमा प्रक्रियालाई सहभागितामूलक, पारदर्शी तथा आवश्यकतामा आधारित बनाउने उद्देश्यले बस्ती तथा टोलस्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ।

मिति २०८३ साल असार ३ गते आयोजित कार्यक्रममा वडाभित्र सञ्चालन गर्न सकिने विभिन्न विकास योजना तथा कार्यक्रमका विषयमा सुझाव संकलन, छलफल, प्राथमिकता निर्धारण तथा निवेदन संकलन कार्य सम्पन्न गरिएको थियो। कार्यक्रममा स्थानीय आवश्यकता र जनचाहनाअनुसारका योजनाहरूलाई आगामी वार्षिक कार्यक्रम तथा बजेटमा समावेश गर्ने विषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, टोल विकास समितिका पदाधिकारीहरू, शिक्षक, युवा, समाजसेवी, बुद्धिजीवी तथा आम वडावासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, सिंचाइ, पर्यटन तथा पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न योजनाहरू प्रस्तुत गर्दै प्राथमिकता निर्धारण गरेका थिए।

वडा अध्यक्षले स्थानीय नागरिकको प्रत्यक्ष सहभागिताबाट छनोट भएका योजनाले विकास निर्माण कार्यलाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन सहयोग पुग्ने बताउनुभयो। उहाँले वडाको समग्र विकासका लागि नागरिकका सुझाव र आवश्यकतालाई उच्च प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा नागरिकको सक्रिय सहभागिता सुनिश्चित गर्दै विकासका कार्यक्रमलाई थप प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ।

४ असार २०८३, बिहीबार ११:४५