बाराको बालिका हत्या प्रकरण : आरोपी किशोरको भिडियो बनाउने प्रहरी हवल्दार पक्राउ

काठमाडौँ — बारामा बालिकाको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका किशोरको बयान लिइरहेको दृश्य भिडियो बनाएर बाहिर ल्याएको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्। घटनासँग जोडिएका थप चार प्रहरीमाथि समेत अनुसन्धान अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार बयानको क्रममा किशोरको भिडियो खिच्ने प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो। उनका अनुसार पक्राउ परेका प्रहरीमाथि फौजदारी कसुरअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइनेछ।

प्रहरी हिरासतमा रहेका किशोरको बयान लिने क्रममा तयार भएको उक्त भिडियो सामाजिक सञ्जालमा फैलिएपछि घटना सार्वजनिक भएको थियो। भिडियो फेसबुक, एक्स, टिकटक तथा रेडिटलगायत विभिन्न सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको थियो।

भिडियो सार्वजनिक भएपछि अनुसन्धानका क्रममा रहेका व्यक्तिको गोपनीयता तथा प्रहरी अनुसन्धानको संवेदनशीलतामाथि प्रश्न उठेको छ। प्रहरीको नियन्त्रणमा रहेको सामग्री बाहिरिनुको कारण पत्ता लगाउन मधेश प्रदेश प्रहरीले समेत आन्तरिक छानबिन अघि बढाएको जनाएको छ।

एसपी कुँवरका अनुसार भिडियो तयार गर्ने प्रहरीबाहेक घटनामा संलग्न हुनसक्ने आशंकामा थप चार प्रहरीलाई पनि अनुसन्धानको दायरामा राखिएको छ। भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तथा त्यसलाई पुनःप्रसारण वा सेयर गर्ने व्यक्तिहरूबारे समेत अनुसन्धान गरिने उनले बताएका छन्।

कानुनअनुसार अनुसन्धानको चरणमा रहेका व्यक्तिको पहिचान खुल्ने सामग्री सार्वजनिक गर्न रोक लगाइएको छ। वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ को दफा १७ ले अनुसन्धानका क्रममा रहेको व्यक्तिविरुद्ध अभियोगपत्र दायर नभएसम्म अधिकारप्राप्त अधिकारीले त्यस्ता व्यक्तिलाई सार्वजनिक गर्न नहुने व्यवस्था गरेको छ।

यस प्रकरणमा प्रहरीकै नियन्त्रणमा रहेको अवस्थामा गोप्य राख्नुपर्ने भिडियो बाहिरिएपछि प्रहरीको अनुसन्धान प्रक्रिया, हिरासत व्यवस्थापन र आरोपीको गोपनीयता संरक्षणबारे गम्भीर प्रश्न उठेको छ।

प्रहरीले भिडियो कसरी बाहिरियो, कसले रेकर्ड गर्‍यो तथा सामाजिक सञ्जालमा कसरी फैलियो भन्ने विषयलाई अनुसन्धानको मुख्य आधार बनाएर थप कारबाही अघि बढाउने जनाएको छ।

९ भाद्र २०८३, मंगलवार १०:३१