त्रिपुरासुन्दरी गाउँपालिकाको २१ औँ गाउँसभा सम्पन्न, ५० करोड ८४ लाखभन्दा बढीको बजेट प्रस्तुत

जनतापत्र,सिन्धुपाल्चोक ।
त्रिपुरासुन्दरी गाउँपालिकाको २१ औँ गाउँसभा अधिवेशन गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराको सभाध्यक्षतामा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा बागमती प्रदेश सरकारको गाउँसभा सञ्चालनसम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार अधिवेशन आयोजना गरिएको हो।

अधिवेशनमा गाउँपालिका अध्यक्ष बोहराले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, पर्यटन, रोजगार प्रवद्र्धन तथा सामाजिक विकासका क्षेत्रलाई प्राथमिकतामा राखिएको जनाइएको छ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष गीता कुमारी नेपालले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि कुल ५० करोड ८४ लाख ११ हजार २ सय ७४ रुपैयाँ बराबरको आय–व्यय अनुमान (बजेट) गाउँसभामा प्रस्तुत गर्नुभयो। सोही अवसरमा विनियोजन विधेयक, २०८३ तथा आर्थिक विधेयक, २०८३ समेत गाउँसभासमक्ष पेश गरिएको थियो।

गाउँसभामा वडा अध्यक्षहरू, गाउँसभा सदस्यहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखाका प्रमुखहरू, कर्मचारी, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि गाउँसभा सदस्यहरूले छलफल गर्दै विभिन्न सुझावहरू दिएका थिए।

गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत विकास निर्माणका कार्यलाई तीव्रता दिनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ। साथै कृषि उत्पादन वृद्धि, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास र सुशासन प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ।

गाउँसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटले गाउँपालिकाको समग्र विकास, नागरिकको जीवनस्तर सुधार तथा दिगो विकासका लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

१० असार २०८३, बुधबार २२:००