टीका सुवेदी, सिन्धुपाल्चोक ।कृषिलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ इन्द्रावती गाउँपालिका वडा नं. १० ले स्थानीय किसानहरूलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरेको छ। आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत मागका आधारमा २७ जना किसानलाई मिनिटिलर हस्तान्तरण गरिएको हो।

कृषिमा बढ्दो श्रमिक अभाव, उत्पादन लागत वृद्धि तथा परम्परागत खेती प्रणालीका चुनौतीलाई ध्यानमा राख्दै वडा कार्यालयले कृषि यान्त्रिकीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ। प्रतिगोटा ३० हजार रुपैयाँ मूल्यका मिनिटिलर किसानहरूलाई आधा लागतमा उपलब्ध गराइएको छ। किसानहरूले ५० प्रतिशत रकम आफैंले व्यहोरेका छन् भने बाँकी रकम वडा कार्यालयले अनुदानका रूपमा उपलब्ध गराएको हो।

मिनिटिलर वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष रामचन्द्र घिमिरेले वडाका अधिकांश नागरिकको मुख्य पेशा कृषि भएकाले कृषकहरूको आवश्यकता र समस्यालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले कृषि क्षेत्रको विकास वडाको प्रमुख प्राथमिकतामध्ये एक रहेको उल्लेख गर्दै कृषिलाई आधुनिक र व्यावसायिक बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिनुभयो।
“हाम्रा किसानहरूले खेतीपातीका क्रममा श्रमिक अभाव, गोरु नपाइने समस्या र बढ्दो लागतको सामना गरिरहेका छन्,” अध्यक्ष घिमिरेले भन्नुभयो, “यिनै समस्यालाई मध्यनजर गर्दै कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउने उद्देश्यले मिनिटिलर खरिदमा अनुदान उपलब्ध गराएका हौं। कृषिलाई आधुनिकीकरण नगरी उत्पादन वृद्धि सम्भव छैन, त्यसैले कृषि क्षेत्रलाई हामीले विशेष प्राथमिकतामा राखेका छौं।”
उहाँले आधुनिक उपकरणको प्रयोगले समय, श्रम र लागत बचत हुनुका साथै उत्पादन बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्राप्त मिनिटिलरलाई व्यक्तिगत प्रयोगभन्दा समूहगत रूपमा सञ्चालन गर्न सके धेरै किसान लाभान्वित हुने र यसको प्रभावकारिता अझ बढ्ने उहाँको भनाइ थियो।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका कृष्ण दुलाल, नेकपा (एमाले) का बिनोद थापा, नेपाली कांग्रेसका बालकृष्ण गिरि तथा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश भट्टराईलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले कृषि क्षेत्रमा स्थानीय सरकारले थालेको पहल प्रशंसनीय रहेको बताउँदै आधुनिक कृषि प्रविधिको प्रयोगलाई थप विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।
उनीहरूले अहिलेको युग प्रविधिको युग भएकाले कृषिमा आधुनिक उपकरणको प्रयोग अपरिहार्य बन्दै गएको बताए। कम समय, कम श्रम र कम लागतमा बढी उत्पादन लिन सकिने भएकाले यस्ता उपकरणको सही सदुपयोग गर्न किसानहरूलाई आग्रह गरेका थिए। केही वक्ताहरूले आफ्ना क्षेत्रमा समेत कृषि आधुनिकीकरणका कार्यक्रम सञ्चालन गर्न प्रेरणा मिलेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा उपस्थित कृषि प्राविधिकहरूले पनि कृषि यान्त्रिकीकरणले उत्पादन वृद्धि, श्रम व्यवस्थापन र लागत न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनीहरूले आधुनिक उपकरणको प्रभावकारी प्रयोगका लागि किसानहरूलाई आवश्यक प्राविधिक ज्ञान र तालिम प्रदान गर्नुपर्नेमा जोड दिएका थिए।
मिनिटिलर प्राप्त गरेका किसानहरू कार्यक्रमबाट उत्साहित देखिएका छन्। लामो समयदेखि गोरु जोतेर वा कोदालोको भरमा खेती गर्दै आएका कृषकहरूले अब आधुनिक उपकरणको प्रयोगले खेतीपाती सहज बन्ने विश्वास व्यक्त गरेका छन्।
स्थानीय कृषक शर्मिला विकले खेती गर्ने समयमा गोरु नपाइने, खेतालाको अभाव हुने र ज्याला दर महँगो हुँदै जाँदा खेती गर्न कठिन भइरहेको अवस्थामा मिनिटिलरले ठूलो राहत दिने बताउनुभयो। उहाँका अनुसार अब खेत जोत्न, बारी तयार गर्न र अन्य कृषि कार्य छोटो समयमा सम्पन्न गर्न सकिनेछ।
अन्य किसानहरूले पनि आधुनिक उपकरणको प्रयोगले कृषि कार्यलाई छिटोछरितो बनाउनुका साथै उत्पादन वृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै उपकरणको मर्मतसम्भार तथा सञ्चालनसम्बन्धी तालिमको व्यवस्था गर्न सके कार्यक्रम अझ प्रभावकारी हुने सुझाव दिएका छन्।
पछिल्ला वर्षहरूमा ग्रामीण क्षेत्रबाट युवा जनशक्ति वैदेशिक रोजगारीतर्फ आकर्षित हुँदा कृषि क्षेत्रमा श्रमशक्तिको अभाव बढ्दै गएको छ। यसको प्रभाव खेतीपातीमा समेत देखिन थालेको छ। धेरै स्थानमा खेतीयोग्य जमिन बाँझिने समस्या बढिरहेका बेला स्थानीय सरकारले कृषिमा यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै किसानलाई आधुनिक उपकरण उपलब्ध गराउनु सकारात्मक कदमका रूपमा हेरिएको छ।
कृषि उत्पादन वृद्धि, लागत न्यूनीकरण र बाँझो जमिनको सदुपयोगका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ। इन्द्रावती गाउँपालिका वडा नं. १० को यो पहलले किसानहरूलाई प्रविधिमैत्री खेतीतर्फ उन्मुख गराउनुका साथै कृषि पेशालाई थप सम्मानित, आकर्षक र व्यावसायिक बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइए कृषि क्षेत्रको दिगो विकासमा थप टेवा पुग्ने स्थानीयवासीहरूको विश्वास छ।
२७ जेष्ठ २०८३, बुधबार १४:२२