बागमतीमा मन्त्रालय बाँडफाँटप्रति असन्तुष्ट नेकपा सांसद प्रचण्ड भेट्न काठमाडौंमा

काठमाडौँ — बागमती प्रदेश सरकार गठन र मन्त्रालयको जिम्मेवारी बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केही प्रदेश सांसद काठमाडौं आइपुगेका छन्। उनीहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी प्रदेश सरकार गठनका क्रममा देखिएका असन्तुष्टिबारे छलफल गर्ने भएका छन्।

मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला सत्तारूढ दलभित्रै असहमति देखिएपछि सरकारमाथि राजनीतिक दबाब बढेको छ।

प्रचण्डसँग छलफलका लागि काठमाडौं आएका सांसदहरूमा गंगानारायण श्रेष्ठ, कृष्णप्रसाद खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठलगायत रहेको बताइएको छ।

असन्तुष्ट सांसदहरूले सरकार गठन गर्दा मन्त्रालय बाँडफाँट गरिएको तरिकाप्रति प्रश्न उठाउँदै पार्टी नेतृत्वको भूमिकाबारे पनि आफ्नो धारणा राख्ने तयारी गरेका छन्। उनीहरूले प्रदेशमा सरकार सञ्चालनको प्रक्रिया र सत्ता साझेदारीबारे पुनर्विचार हुनुपर्ने माग अघि सारेको स्रोतको भनाइ छ।

मुख्यमन्त्रीले विश्वासको मत लिने बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको थियो। तर सत्ता गठबन्धनभित्र सहमति जुट्न नसकेपछि बैठक पटक–पटक सारिएको थियो। अन्ततः विश्वासको मतसम्बन्धी कार्यसूची मंगलबार अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको छ।

असन्तुष्ट सांसदहरू सोमबार हेटौँडा नपुगेपछि पनि बैठक स्थगित गर्नुपर्ने अवस्था आएको स्रोतले जनाएको छ। त्यसपछि पार्टी अध्यक्ष प्रचण्डले उनीहरूलाई सरकारको पक्षमा मतदान गर्न आग्रह गरेको बताइएको छ।

तर असन्तुष्ट समूहले सरकार गठनकै प्रक्रियामा समस्या रहेको भन्दै त्यसलाई सम्बोधन नगरी तत्काल विश्वासको मत दिन सहज नहुने धारणा राखेको स्रोतको दाबी छ।

सोमबार अध्यक्ष प्रचण्डले केही असन्तुष्ट सांसदसँग फोनमार्फत सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्क हुन नसकेको बताइएको छ। विश्वासको मतको बैठक सारिएपछि भने उनीहरू काठमाडौं पुगेर पार्टी नेतृत्वसँग प्रत्यक्ष छलफलमा जुटेका हुन्।

असन्तुष्ट सांसद र पार्टी अध्यक्षबीचको छलफलपछि उनीहरूको अडान परिवर्तन हुन्छ वा हुँदैन भन्ने विषयले बागमती प्रदेश सरकारको आगामी राजनीतिक समीकरणमा प्रभाव पार्ने देखिएको छ।

९ भाद्र २०८३, मंगलवार १३:३२