बारा — बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले थप एक बालकलाई पक्राउ गरेको छ।
जितपुरसिमरा–२ का १४ वर्षीय प्रदीप खड्कालाई आइतबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए। कक्षा ९ मा अध्ययनरत खड्कालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यसअघि पक्राउ परेका सुमन थापाले अनुसन्धानका क्रममा दिएको बयानमा खड्काको समेत संलग्नता रहेको बताएपछि उनलाई पक्राउ गरिएको हो।
यससँगै गरिमा हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या आठ पुगेको छ। गरिमाको परिवारले दिएको पूरक जाहेरीपछि प्रहरीले शनिबार थप पाँच जनालाई नियन्त्रणमा लिएको थियो।
यसअघि गरिमाको शव फेला परेपछि प्रहरीले सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो। अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले घटनासँग सम्बन्धित अन्य व्यक्तिलाई समेत नियन्त्रणमा लिएको हो।
प्रहरीले पक्राउ परेका अन्य व्यक्तिहरूको पहिचान भने हाल सार्वजनिक गरेको छैन। घटनामा संलग्न सबैको भूमिका पहिचान गर्न अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
८ भाद्र २०८३, सोमबार १३:१४