सडक र पुल नहुँदा आमाछोदिङमोका किसानको करोडौँको तरकारी जोखिममा

रसुवा — भोटेकोशी बाढीले सडक र पुलमा क्षति पुर्‍याएपछि रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउन सकेका छैनन्। बिक्री गर्ने मुख्य समयमा समेत सडक सम्पर्क नजोडिँदा बारीमै तरकारी कुहिन थालेको छ।

गत्लाङकी छिरिङ साङमो तामाङले गत वर्ष करिब १२ लाख रुपैयाँको तरकारी बिक्री गरेकी थिइन्। यस वर्ष उत्पादन बढाएर करिब ३० लाख रुपैयाँको तरकारी बजारमा पठाउने तयारी गरेकी थिइन्। तर भदौ १० को बाढीपछि सडक अवरुद्ध हुँदा बन्दागोभी, मुला, आलु र सिमी बारीमै थन्किएका छन्।

छिरिङका अनुसार तरकारी खेतीकै लागि उनले बैंकबाट करिब ४ लाख रुपैयाँ ऋणसमेत लिएकी छन्। खेतीबाट आम्दानी गरेर परिवार चलाउने र छोराछोरीको पढाइ खर्च जुटाउने उद्देश्यले गाउँ फर्किए पनि सडक नहुँदा लगानी र मेहनत दुवै खेर जाने अवस्था आएको उनको भनाइ छ।

चार सय घरधुरी तरकारी खेतीमा निर्भर

आमाछोदिङमोका वडा नम्बर ३ लगायतका क्षेत्रमा व्यावसायिक तरकारी खेती प्रमुख आम्दानीको स्रोत बनेको छ। गत्लाङ क्षेत्रमा मात्रै करिब ४ सय घरधुरी तरकारी खेतीमा संलग्न रहेको बताइएको छ।

गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न अनुदानमार्फत तरकारीको बीउसमेत वितरण गर्दै आएको छ। गत आर्थिक वर्षमा मात्रै करिब १० लाख रुपैयाँ बराबरको तरकारीको बीउ खरिद गरी किसानलाई वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङले बताइन्।

गत वर्ष वडा नम्बर ३ बाट मात्रै करिब ३ करोड रुपैयाँ बराबरको तरकारी बिक्री भएको थियो। यस वर्ष गाउँपालिकाले करिब ७ देखि ८ करोड रुपैयाँको तरकारी बाहिर पठाउने लक्ष्य राखेको थियो।

तर बाढीपछि सडक अवरुद्ध हुँदा लक्ष्यअनुसार उत्पादन बजारसम्म लैजान नसकिएको स्थानीय जनप्रतिनिधिको भनाइ छ।

हेलिकोप्टरबाट पठाउने प्रयास पनि सफल भएन

वडा नम्बर ३ का अध्यक्ष सुरेन्द्र तामाङका अनुसार तत्काल सडक र पुल सञ्चालन हुने अवस्था नदेखिएपछि विश्व खाद्य कार्यक्रमको खाद्यान्न बोकेर गाउँ जाने हेलिकोप्टरमार्फत तरकारी बाहिर पठाउन सकिन्छ कि भनेर पहल गरिएको थियो। तर त्यसबाट पनि तरकारी ढुवानी सम्भव हुन सकेन।

उनले बिक्रीको समयमा तरकारी बारीमै कुहिए किसानलाई ठूलो आर्थिक क्षति हुने भन्दै सरकारले क्षतिपूर्ति वा अनुदानको व्यवस्था गर्नुपर्ने माग गरे।

पैदलमार्ग र अस्थायी संरचनाबाट आवतजावत

बाढीले सडकमा क्षति पुर्‍याएपछि अहिले गत्लाङबाट स्याफ्रुबेँसीसम्म पुग्न पैदल हिँड्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्। स्याफ्रुबेँसीमा तुइन निर्माण भइसकेको छ भने बेत्रावतीमा बेलिब्रिज निर्माणका लागि आवश्यक काम अघि बढाइएको छ।

सरकारले भने बाढीबाट अवरुद्ध सडक खुलाउने तथा अस्थायी संरचना निर्माण गर्ने काम भइरहेको जनाएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदुर–बेत्रावती सडकखण्डको करिब ९.८ किलोमिटर अवरुद्ध सडक सफा गरिसकिएको छ। बेत्रावतीमा बेलिब्रिज निर्माणका लागि जग तयार पार्ने काम भइरहेको छ।

प्राधिकरणले आमाछोदिङमो, गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकासहित धुन्चे बजार, अस्पताल तथा धादिङ सदरमुकाम जोड्ने सडक र पुलको पुनःस्थापना अत्यावश्यक रहेको जनाएको छ।

देविघाट, इन्द्रेणीचौर र स्याफ्रुबेँसीमा तुइन निर्माण सम्पन्न भइसकेको तथा हाकुबेँसी र पैरेबेँसीमा थप तुइन जडानको काम अघि बढाइएको प्राधिकरणले जनाएको छ।

स्थानीय किसानले भने राहतका रूपमा खाद्यान्न उपलब्ध गराउनुका साथै उत्पादन बजारसम्म पुर्‍याउने सडक र पुललाई तत्काल प्राथमिकता दिनुपर्ने माग गरेका छन्। उनीहरूको मुख्य आम्दानीको आधार नै तरकारी खेती भएकाले सडक सम्पर्कमा थप ढिलाइ भए आगामी महिनामा जीविकोपार्जनमै समस्या आउन सक्ने स्थानीयको चिन्ता छ।

२१ आश्विन २०८३, बुधबार १२:०५