प्राकृतिक स्रोतका विवाद संवादबाट समाधान गर्नुपर्छ – सांसद दुलाल

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य युवराज दुलाल ‘शरद’ले प्राकृतिक स्रोतसँग सम्बन्धित विवादलाई संवाद, सहकार्य र आपसी समझदारीका माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । उनले जल, जंगल र जमिनसँग जोडिएका विवाद समाधानका लागि सबै सरोकारवाला पक्ष एक ठाउँमा बसेर साझा सहमति खोज्नुपर्नेमा जोड दिएका छन् ।
मेलम्ची नगरपालिका–१३ स्थित देउता सामुदायिक वन उपभोक्ता समूहमा देखिएको वनको सिमाना, नेतृत्व तथा स्रोत परिचालनसम्बन्धी विवाद समाधानका लागि आयोजित संयुक्त बैठकमा बोल्दै सांसद दुलालले यस्तो बताएका हुन् ।


कार्यक्रममा बोल्दै सांसद दुलालले प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र–नेपालले जिल्लाका विभिन्न क्षेत्रमा देखिएका प्राकृतिक स्रोतसम्बन्धी विवाद समाधानका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले माकुरा पद्धतिमार्फत जल, जंगल र जमिनसँग सम्बन्धित विवादमा सहजीकरण गरी सरोकारवाला पक्षहरूबीच समझदारी निर्माण गर्ने प्रयास प्रशंसनीय रहेको उल्लेख गरे ।
प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र–नेपालको सहयोगमा माकुरा समूहले सहजीकरण गर्दै आएको उक्त विवाद समाधान प्रक्रियाअन्तर्गत आयोजित बैठकले १२ बुँदे प्रक्रिया प्रस्ताव पारित गरेको छ । विवादमा संलग्न पक्षहरूबीच संवाद र समझदारी कायम गर्दै समाधानको प्रक्रियालाई अघि बढाउने उद्देश्यले बैठक आयोजना गरिएको हो ।


प्राकृतिक स्रोतको संरक्षण र उपयोगका क्रममा उत्पन्न हुने विवादलाई एकअर्कामाथि दोषारोपण गरेर नभई संवाद र सहकार्यबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो । सकारात्मक सोच र संवादको संस्कृतिको विकासले विवाद समाधानलाई सहज बनाउने बताउँदै उनले स्थानीयस्तरमा सहमति निर्माण गर्ने यस्ता अभियानले समाजमा मेलमिलापको वातावरण तयार पार्न सहयोग पुग्ने धारणा राखे ।
देउता सामुदायिक वनमा देखिएको विवादप्रति चासो व्यक्त गर्दै सांसद दुलालले सबै पक्ष एकजुट भएर समाधान खोज्नुपर्ने बताए । विवादमा संलग्न पक्षहरूले एकअर्काको विचार र चासोलाई सम्मान गर्दै अघि बढेमा सहमतिमा पुग्न सकिने उनको विश्वास थियो।
‘यहाँ रहेको सामुदायिक वनको विवाद सबै मिलेर द्वन्द्व रूपान्तरण प्रक्रियाअनुसार सहमतिमा समाधान गर्नुहुनेछ भन्ने आशा लिएको छु,’ उनले भने।
उनले बडादसैँको शुभकामना आदानप्रदान गर्दै चाडपर्वले समाजमा आपसी सद्भाव, एकता, भाइचारा र सहकार्यको भावना थप बलियो बनाउने विश्वाससमेत व्यक्त गरे।
संस्थाको अभियान र वैठकको महत्व

प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र–नेपालका राष्ट्रिय स्रोत व्यक्ति नेत्रप्रसाद धितालले संस्थाले सञ्चालन गर्दै आएको अभियान, बहुसरोकारवाला विवाद रूपान्तरणको अवधारणा तथा यसको सान्दर्भिकताबारे जानकारी गराएका थिए ।


धितालले प्राकृतिक स्रोतसँग सम्बन्धित विवाद समाधान गर्दा सबै सरोकारवाला पक्षको चासो र आवश्यकतालाई सम्बोधन गर्नुपर्ने बताए। विवाद समाधानका लागि सम्बन्धित पक्षबीच विश्वासको वातावरण निर्माण गर्दै साझा सहमति खोज्नु आवश्यक रहेको उनको भनाइ थियो । उनले बैठकको उद्देश्य र औचित्यबारे समेत प्रकाश पारेका थिए।

१२ बुँदे प्रक्रिया प्रस्ताव पारित
देउता सामुदायिक वनको विवाद समाधानका लागि आयोजित संयुक्त बैठकले १२ बुँदे प्रक्रिया प्रस्ताव पारित गरेको छ। बैठकमा सामुदायिक वनको सिमाना, नेतृत्व तथा स्रोत परिचालनसम्बन्धी विषयमा देखिएका असमझदारीलाई प्रक्रियागत रूपमा समाधान गर्ने विषयमा छलफल गरिएको थियो ।
माकुरा समूहका तर्फबाट तयार गरिएको प्रक्रिया प्रस्तावको साझा खेस्रामाथि छलफल गरी प्रस्ताव पारित गरिएको हो । छलफललाई सहजकर्ता टीका सुवेदीले सहजीकरण गरेका थिए । प्रस्ताव पारित भएसँगै विवाद समाधानका लागि सरोकारवाला पक्षहरूबीच सहमति निर्माण गर्दै अघि बढ्ने अपेक्षा गरिएको छ ।


सहमतिका वुदाँ

१. प्राकृतिक श्रोत द्धन्द्ध रूपान्तरण केन्द्र नेपालले अबलम्बन गरेको बहुसरोकारवाला विवाद रूपान्तरण प्रक्रिया अनुसार, सबै पक्षको सहमतिमा आपसी संवादको माध्यमबाट सहमति खोज्न हामी सबै पक्ष प्रतिबद्ध रहनेछौं ।
२. हामी सबै पक्षबीच आपसी संवादबाट साझा सवालको पहिचान गरी, सबैको सहमतिमा बस्ने संयुक्त बैठकबाट पारित गरेर उपयुक्त र सर्वमान्य विकल्प पहिचान गरी आपसी सहमति निर्माण गर्दै कार्यान्वयनमा लैजाने छौं ।
३. यस प्रकृया अनुसार आयोजना गरीने भेला तथा बैठकहरू सबैलाई पायक पर्ने सार्वजनिक स्थानमा आयोजना गर्ने छौं । यस्ता भेला तथा बैठकहरूको पूर्व जानकारी चिठी, पत्र र भेटघाटको माध्यमबाट सबै उपभोक्तहरूलाई अग्रिम जानकारी गराईने छ ।
४. प्रक्रियामा काम गर्ने माकुरा समूहका सदस्यहरू तथा सहजकर्ताहरूले कसैको पनि पक्ष नलिई सधै निश्पक्ष र पारदर्शी रूपमा काम गर्ने । कसैलाई पनि कुनै कुरा नलुकाउने र कसैलाई पनि निर्णय प्रक्रियाबाट बञ्चित नगर्ने कुराको सुनिश्चितता गरिनेछ ।
५. सबैकोे समान सहभागिताको सुनिश्चितता गरिनेछ । सबैले आ–आफ्ना भावना र मनमा लागेका कुराहरू निर्धक्कसँग राख्न पाउने अवसर सिर्जना गरीने छ ।
६. आफूलाई चित्त नबुझेका कुराहरू प्रक्रिया अनुसार आयोजित बैठक तथा संयुक्त बैठकहरुमा विषयवस्तु माथि केन्द्रित भयर स्पष्ट रूपमा राख्ने छौं र चोक–चौतारोमा कसैले पनि अरूको कुरा काट्ने छैनौं ।
७. यो प्रक्रिया सञ्चालन भइरहँदा हरेक पक्षले एकअर्काको मान, सम्मान र प्रतिष्ठाको ख्याल गरी अरूलाई दुःख लाग्ने शब्द प्रयोग नगर्ने र कसैलाई पनि दुःख दिने व्यवहार नगर्ने प्रतिबद्धता जनाउँछौं ।
८. द्वन्द्व (विवाद) रूपान्तरण प्रक्रिया अनुसार गरिने हरेक संयुक्त बैठक सञ्चालन गर्दा सबैलाई समान अवसर दिई खाट विधिबाट सञ्चालन गरिनेछ ।
९. प्रक्रिया अघि बढाउँदै गर्दा सामुदायिक वन उपभोक्त समूहको विधान तथा वन व्यवस्थानको कार्ययोजना तयारीको प्रकृया अघि बढाउन सबैले सहयोग गर्ने ।
१०, वस्तबिक उपभोक्ताहरूको पहिचान गर्ने प्रकृया अगाडि बढाई, चुस्त दुरुस्त रूपमा उपभोक्ताको सदस्यताको फोटोसहित रेकर्ड तयार पारिनेछ ।
११, समूहको अडिट गर्ने , पान नम्वर लिने कार्य पनि संगसगै गरिने छ ।
१२. यो सम्पूर्ण प्रक्रिया २०८३ साल मंसिर मसान्तभित्र सम्पन्न गर्ने छौं ।

माकुरा पद्धतिले विवादमा संलग्न पक्षहरूलाई संवादमा सहभागी गराउँदै उनीहरूकै सहभागितामा समाधान खोज्ने प्रक्रियालाई प्राथमिकता दिन्छ। यसले कुनै एक पक्षको जित वा हारभन्दा पनि सबै पक्षको हित हुने साझा सहमति निर्माणमा जोड दिन्छ ।
कार्यक्रममा वडा सदस्य उद्धवप्रसाद ढुङ्गानाले सञ्चालन गरेका थिए भने राजेन्द्र घोरासैनीले स्वागत मन्तव्य राखेका थिए । माकुरा समूहका संयोजक मिलन आचार्यको अध्यक्षतामा सम्पन्न संयुक्त बैठकमा बडादसैँको शुभकामना आदानप्रदानका साथै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो।

२७ आश्विन २०८३, मंगलवार ०९:४०