सिन्धुपाल्चोक, असोज २७। सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्यटन प्रवर्द्धन, स्थानीय कला–संस्कृतिको संरक्षण र आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको ‘जुगल भ्रमण वर्ष २०८३’ को औपचारिक उद्घाटन गरिएको छ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले चनौटेस्थित श्री रत्नराज्य माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा भ्रमण वर्षको उद्घाटन गरेका हुन्।
कार्यक्रममा पूर्वप्रतिनिधिसभा सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न क्षेत्रका प्रतिनिधि तथा स्थानीय बासिन्दाको सहभागिता थियो।
भ्रमण वर्षमार्फत जुगल हिमालसहित क्षेत्रका प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता, मौलिक परम्परा र स्थानीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखिएको छ। गाउँपालिकाका सबै वडालाई समेटेर स्थानीय कला, संस्कृति र परम्परा झल्किने गतिविधि सञ्चालन गर्ने योजना रहेको छ।
उद्घाटन समारोहमा मन्त्री पौडेलले जुगल क्षेत्रका पर्यटकीय गन्तव्यको सम्भावना उजागर गर्न आवश्यक पूर्वाधार विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए। प्राकृतिक र सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्न सके स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सकिने उनको भनाइ थियो।
पर्यटन विकासलाई स्थानीय बासिन्दाको रोजगारी र आम्दानीसँग जोड्नुपर्नेमा जोड दिँदै उनले स्थानीय सीप, श्रम र प्रविधिको उपयोगबाट गाउँमै स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताए। पर्यटनबाट स्थानीय उत्पादनको बजारीकरण हुनुका साथै मौलिक संस्कृति र परम्पराको संरक्षणमा समेत योगदान पुग्ने उनले उल्लेख गरे।
मन्त्री पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई पनि प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए। उनले रत्नराज्य माध्यमिक विद्यालयलाई आवासीय विद्यालयका रूपमा थप व्यवस्थित बनाउन आवश्यक पहल र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन प्रदेश सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले प्रभावित बालबालिकाको भविष्य सुरक्षित गर्न उनीहरूको शिक्षाको जिम्मेवारी प्रदेश सरकारले लिने प्रतिबद्धतासमेत जनाए।
जुगल भ्रमण वर्षलाई पर्यटक आकर्षित गर्ने अभियानमा मात्र सीमित नराखी स्थानीय पहिचानको संरक्षण, रोजगारी सिर्जना, आर्थिक गतिविधिको विस्तार र समग्र क्षेत्रको विकाससँग जोड्ने लक्ष्य राखिएको छ। स्थानीय समुदायको सहभागितामा पर्यटनका सम्भावना उजागर गर्दै दिगो विकासको आधार तयार पार्न यस अभियानले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
२७ आश्विन २०८३, मंगलवार २२:१०