कात्तिक १७ र १८ गते देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि दिइने

काठमाडौं, ९ कात्तिक २०८३। सरकारले आगामी कात्तिक १७ र १८ गते देशव्यापी रूपमा बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ। यस अभियानबाट करिब २१ लाख बालबालिकाले भिटामिन ‘ए’ र २० लाखले जुकाको औषधि पाउने अनुमान गरिएको छ।

सामान्यतया कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको कार्यक्रम यस वर्ष दसैँ पर्व परेका कारण सारिएको हो। स्थगित कार्यक्रमलाई स्वास्थ्य सेवा विभागले नयाँ मिति तय गरी कात्तिक १७ र १८ गते सञ्चालन गर्न लागेको हो।

स्वास्थ्य सेवा विभागको पोषण शाखाका अनुसार ६ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ। त्यस्तै, एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइनेछ।

कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक भिटामिन ‘ए’ क्याप्सुल सबै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकिएको विभागले जनाएको छ। अभियानका क्रममा देशभरका महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मी परिचालन गरिनेछ।

बालबालिकामा भिटामिनको कमीबाट हुन सक्ने स्वास्थ्य समस्या कम गर्न र कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले लामो समयदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेपालमा भिटामिन ‘ए’ खुवाउने कार्यक्रम २०५० सालदेखि र जुकाको औषधि खुवाउने कार्यक्रम २०५६ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको हो।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी छ। सरकारले लक्षित उमेर समूहका बालबालिकालाई तोकिएको मितिमा नजिकको स्वास्थ्य संस्था वा कार्यक्रम सञ्चालन हुने केन्द्रमा लगेर औषधि खुवाउन आग्रह गरेको छ।

१० कार्तिक २०८३, सोमबार १६:२७