साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा

चालु आर्थिक वर्ष सुरु भएयता ४ सचिवसहित ४६४ जना निजामती कर्मचारीले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय किताबखाना (निजामती) का अनुसार गत साउन १ गतेदेखि कात्तिक १० गतेसम्म राजपत्राङ्कित र राजपत्र अनङ्कित तहका कर्मचारीले राजीनामा दिएका हुन्।

किताबखानाका निर्देशक तथा सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठका अनुसार राजीनामा दिनेमा २०७ जना राजपत्राङ्कित र २५७ जना राजपत्र अनङ्कित कर्मचारी रहेका छन्। राजपत्राङ्कित कर्मचारीतर्फ ४ सचिव, ३३ सहसचिव, ७२ उपसचिव र ९८ शाखा अधिकृत छन्।

त्यस्तै, राजपत्र अनङ्किततर्फ खरिदार तथा नायब सुब्बा तहका १३७ जना र श्रेणीविहीन १२० जना कर्मचारीले राजीनामा दिएका छन्। किताबखानाका अनुसार उनीहरूको राजीनामा सरकारले स्वीकृतसमेत गरिसकेको छ।

कर्मचारीको राजीनामाको पछाडि सरकारले प्रतिनिधिसभामा दर्ता गरेको निजामती कर्मचारीसम्बन्धी विधेयकमा प्रस्तावित व्यवस्थालाई पनि एउटा कारणका रूपमा हेरिएको छ। उक्त विधेयकमा व्यवस्था कार्यान्वयनमा आएको अवस्थामा पहिलो पटक ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीले राजीनामा दिनुपर्ने प्रावधान राखिएको छ।

प्रस्तावित व्यवस्थाले भविष्यमा आफ्नो सेवाअवधि र अवकाशमा प्रभाव पार्न सक्ने देखिएकाले कर्मचारीले राजीनामा दिने क्रम बढेको बताइएको छ। यद्यपि, राजीनामा पत्रमा भने धेरै कर्मचारीले घरायसी कारण उल्लेख गरेको राष्ट्रिय किताबखानाले जनाएको छ।

यसरी छोटो अवधिमै ठूलो सङ्ख्यामा निजामती कर्मचारीले राजीनामा दिएपछि सरकारी सेवामा कर्मचारी व्यवस्थापन र प्रशासनिक जनशक्तिको निरन्तरताबारे चासो बढेको छ।

११ कार्तिक २०८३, मंगलवार १५:०२