काठमाडौं, १० कात्तिक। देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली भएको छ। तराईका अधिकांश स्थानमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना छ। अन्य प्रदेशमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। रातिको समयमा भने देशका अधिकांश भूभागमा आंशिक बदली हुने पूर्वानुमान छ।
बुधबार देशभर सामान्यतया बादल लाग्ने देखिएको छ। उक्त दिन हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। रातिको समयमा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै कोशी र बागमती प्रदेशका पहाडी भूभाग, मधेस प्रदेश तथा कोशी प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, बिहीबार पनि देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।
बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। यसैगरी लुम्बिनी प्रदेशको पहाडी तथा तराई क्षेत्रमा पनि एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै वर्षा तथा हिमपातको सम्भावना भएका क्षेत्रमा यात्रा गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइन्छ।
११ कार्तिक २०८३, मंगलवार ०६:४७