सात महिनादेखि अस्थायी आश्रयमै सुकुमवासी, होल्डिङ सेन्टर पनि छाड्नुपर्ने दबाब

काठमाडौं । थापाथली, मनोहरा र सिनामंगललगायतका खोला किनारका बस्तीबाट विस्थापित सुकुमवासी परिवार सात महिना बितिसक्दा पनि स्थायी आवासको पर्खाइमा छन्। सरकारले १५ दिनभित्र वैकल्पिक व्यवस्था गर्ने प्रतिबद्धता जनाएको भए पनि उनीहरूले अहिलेसम्म न जग्गाको लालपुर्जा पाएका छन्, न पुनःस्थापनाको उचित व्यवस्था।

गत वैशाख १२ गते सरकारले डोजर लगाएर बस्ती हटाएपछि विस्थापित परिवारलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो। अहिले इचंगुनारायण, खरिबोट र बोडेमा गरी ९६ परिवारका १ हजार ४ सय ८८ जना समितिको सम्पर्कमा रहेको बागमती सभ्यता एकीकृत विकास समितिको तथ्यांक छ। तीमध्ये इचंगुनारायणमा ४५, खरिबोटमा ३२ र बोडेमा १९ परिवार बसिरहेका छन्।

होल्डिङ सेन्टरमा रहेका अधिकांश वृद्धवृद्धा, अपांगता भएका व्यक्ति, दीर्घरोगी, महिला र बालबालिका छन्। उनीहरूले पर्याप्त खाना, स्वास्थ्य उपचार र सुरक्षित बसोबासको अभाव झेलिरहेका छन्। कतिपय बिरामीले नियमित औषधि र उपचारसमेत पाउन सकेका छैनन्।

इचंगुनारायणमा बस्दै आएकी कमला योञ्जनले विदेशमा मजदुरी गरेर बनाएको घर डोजरले भत्काइदिएपछि आफू कहाँ जाने भन्ने अन्योलमा रहेको बताएकी छन्। हातमा राखिएको स्टिल निकाल्न शल्यक्रिया गर्नुपर्ने भए पनि गाडी भाडासमेत नहुँदा उपचारका लागि जान नसकेको उनको भनाइ छ।

सेन्टरमा दिइने खानाको गुणस्तर र पोषणबारे पनि विस्थापित परिवारले गुनासो गरेका छन्। बिरामीका लागि आवश्यक पोषणयुक्त खाना उपलब्ध नभएको र कतिपय अवस्थामा बासी तथा खान नसकिने खाना दिने गरिएको उनीहरूको आरोप छ। मिर्गौला, क्यान्सर र मधुमेहका बिरामीलाई समेत उपयुक्त खानपानको व्यवस्था छैन।

६१ वर्षीय प्रतापबहादुर लामा मिर्गौलाका बिरामी हुन्। उनलाई सातामा दुईपटक डायलासिस गर्नुपर्ने भए पनि उपचार नियमित हुन सकेको छैन। डायलासिसका लागि प्रत्येक पटक ३ हजार ५ सय रुपैयाँभन्दा बढी खर्च लाग्ने गरेको छ। उनकी पत्नी शर्मिला लामा स्वयं उच्च मधुमेह र मुटुसम्बन्धी समस्याबाट पीडित छिन्। सेन्टरमा रहेको ह्विलचेयरसमेत बिग्रिएकाले बिरामीलाई ओसारपसार गर्न कठिन भएको उनीहरूको भनाइ छ।

यसैबीच, भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा रहेका १९ परिवारका ५९ जनालाई शुक्रबार मंसिर ११ गते दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ। बुधबार प्रशासनको टोलीले सेन्टरमा सूचना टाँसेर तोकिएको समयभित्र खाली गर्न भनेको हो।

बोडेमा रहेका विस्थापित परिवारका अनुसार उनीहरूलाई कहाँ जाने र कसरी बस्ने भन्ने कुनै विकल्प दिइएको छैन। प्रशासनले जारी गरेको सूचनामा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय तहबाट प्राप्त विवरणका आधारमा केही परिवारका घरमूली वा सदस्यको नाममा जग्गा रहेको उल्लेख गरिएको छ। तर विस्थापितहरूले आफूहरूका लागि वैकल्पिक आवासको व्यवस्था नभएको बताएका छन्।

सरकारले गत जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकबाट आफैं वैकल्पिक बसोबासको व्यवस्था गर्न चाहने विस्थापित परिवारलाई एकमुष्ट २५ हजार रुपैयाँ पुनःस्थापना खर्च र मासिक १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको थियो। पाँच जनाभन्दा बढी सदस्य भएको परिवारलाई थप प्रत्येक सदस्यका लागि मासिक २ हजार रुपैयाँ उपलब्ध गराउने भनिएको थियो। तर धेरै परिवारले अहिलेसम्म उक्त रकमसमेत नपाएको गुनासो गरेका छन्।

विस्थापितहरूको व्यवस्थापनमा सरकारी निकायबीच जिम्मेवारीबारे स्पष्टता देखिएको छैन। बागमती सभ्यता एकीकृत विकास समितिले बाँकी काम महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारीमा पर्ने जनाएको छ। महिला मन्त्रालयले सामग्री व्यवस्थापन आफ्नो दायित्व भएको र सुकुमवासी व्यवस्थापन भूमि व्यवस्था मन्त्रालयको क्षेत्राधिकारमा पर्ने बताएको छ।

भूमि व्यवस्था मन्त्रालयले भने वास्तविक सुकुमवासी पहिचान, जग्गा खोजी र वितरणको काम भूमि समस्या समाधान समितिले गर्ने जनाएको छ। समितिका अनुसार बागमती सभ्यता समितिबाट प्राप्त विवरण जिल्लामार्फत स्थानीय तहमा पठाइएको छ। स्थानीय तहले वास्तविक सुकुमवासी पहिचान गरी कानुनअनुसार लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाउने बताइएको छ।

यसरी सरकारी निकायबीच जिम्मेवारी एकअर्कातर्फ सारिँदा विस्थापित परिवारको आवास, स्वास्थ्य र शिक्षासम्बन्धी समस्या समाधान हुन सकेको छैन। होल्डिङ सेन्टरमा पटकपटक स्थानान्तरण हुँदा बालबालिकाको पढाइ, बिरामीको उपचार र अन्य प्रशासनिक कामसमेत प्रभावित भएको उनीहरूको गुनासो छ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले वास्तविक सुकुमवासीको आवासलगायतका मानवअधिकार सुनिश्चित गर्नु सरकारको दायित्व भएको बताएका छन्। बस्ती हटाउने अधिकार सरकारसँग भए पनि विस्थापित नागरिकका लागि सुरक्षित वैकल्पिक व्यवस्था गर्नुपर्ने अधिकारकर्मीहरूको जोड छ।

११ मंसिर २०८३, बिहीबार १२:०४