बलेफीबाटै पान नम्बर र करदाता सेवा, धुलिखेल धाउनुपर्ने बाध्यता हट्दै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले अब स्थानीय तहमै स्थायी लेखा नम्बर (पान) लिनेलगायत करसम्बन्धी सेवा पाउने भएका छन्। यससँगै सामान्य करसम्बन्धी कामका लागि धुलिखेलस्थित आन्तरिक राजस्व कार्यालय पुग्नुपर्ने बाध्यता हट्ने भएको छ।

करदाता सेवालाई स्थानीयस्तरमै विस्तार गर्ने उद्देश्यले आन्तरिक राजस्व कार्यालय, धुलिखेल र बलेफी गाउँपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङसहित जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थितिमा समझदारी गरिएको हो।

समझदारीअनुसार अब गाउँपालिकाको कार्यालयबाटै पान नम्बर लिने तथा करदाता सेवासँग सम्बन्धित आवश्यक काम गर्न सकिनेछ। यसअघि यस्ता सेवा लिन धुलिखेलसम्म पुग्नुपर्ने हुँदा विशेषगरी ग्रामीण क्षेत्रका नागरिक र साना व्यवसायीले समय तथा यातायात खर्च व्यहोर्नुपरेको थियो।

स्थानीय तहमै सेवा उपलब्ध हुने भएपछि नयाँ व्यवसाय सञ्चालन गर्न चाहने, घरेलु तथा कृषि उद्यममा संलग्न व्यक्ति र विभिन्न पेसा व्यवसाय गर्ने नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ।

यसअघि सामान्य करसम्बन्धी कामका लागि समेत टाढाको कार्यालय धाउनुपर्ने अवस्थाले सेवाग्राहीलाई असुविधा हुँदै आएको थियो। अब आफ्नै गाउँपालिकाबाट सेवा लिन सकिने भएपछि नागरिकको समय र खर्च बचत हुनुका साथै सरकारी सेवामा पहुँचसमेत विस्तार हुने देखिएको छ।

स्थानीय सरकार र राजस्व प्रशासनबीचको सहकार्यमा भएको यो पहलले कर प्रणालीमा नागरिकको सहभागिता बढाउन र स्थानीय आर्थिक गतिविधिलाई प्रोत्साहन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, सरकारी सेवा नागरिकको नजिक पुर्‍याउने संघीय शासन प्रणालीको अवधारणालाई कार्यान्वयन गर्न पनि यसले योगदान पुर्‍याउने विश्वास गरिएको छ।

११ मंसिर २०८३, बिहीबार १५:३९