सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्म बागमती प्रदेशस्तरीय नवप्रवर्तन उद्यमी सम्मानमा दोस्रो भएको छ।
उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय बागमती प्रदेशले आयोजना गरेको १२औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा फर्मले ७१ अंक प्राप्त गर्दै प्रदेशभर दोस्रो स्थान हासिल गरेको हो।
फर्मलाई ७५ हजार रुपैयाँ नगदसहित ‘जिल्लाको उत्कृष्ट उद्यमी’ पुरस्कार प्रदान गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले फर्मका अध्यक्ष शारदा घलेलाई सम्मानपत्र र पुरस्कार हस्तान्तरण गरेका थिए।
अरनिको फर्मले विशेष कफी उत्पादन, स्थानीय कृषि उपजको प्रवर्द्धन, कृषि पर्यटन, आतिथ्य सेवा तथा सीप विकासका क्षेत्रमा काम गर्दै आएको छ। स्थानीय किसानलाई प्रोत्साहन गर्नुका साथै स्थानीय उत्पादनको बजारीकरण र उद्यमशीलता विस्तारमा पनि फर्मले भूमिका खेल्दै आएको छ।
प्रदेशस्तरमा दोस्रो स्थान हासिल गरेपछि अध्यक्ष घलेले यस उपलब्धिलाई किसान, कर्मचारी, साझेदार, ग्राहक तथा आफ्नो अभियानमा साथ दिने सबैप्रति समर्पित गरेकी छन्। प्राप्त सम्मानले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने र नयाँ अवसर सिर्जना गर्ने काममा थप ऊर्जा मिलेको उनले बताएकी छन्।
स्थानीय कृषि उत्पादनलाई व्यवसायसँग जोड्दै रोजगारी र उद्यमशीलता विकासमा योगदान पुर्याइरहेका संस्थाका लागि यो सम्मान महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
११ मंसिर २०८३, बिहीबार १४:४३