प्रमिला वि.क.
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक पर्व गौराती भीमेश्वर मेला यस वर्ष पनि धुमधामका साथ मनाइएको छ। मंसिर ८ गते परेको मुख्य मेलामा जिल्लाभित्र तथा काठमाडौं, भक्तपुर, काभ्रे, दोलखा र नुवाकोटलगायतका स्थानबाट भक्तजनहरू गौराती पुगेका थिए।
चौतारा साँगाचोकगढी नगरपालिका–६, पीपलडाँडास्थित गौराती डाँडामा लाग्ने यो मेला जिल्लाकै प्रमुख धार्मिक उत्सवमध्ये एक हो। हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको अवसरमा लाग्ने मेलामा भीमेश्वरको दर्शन, पूजाआजा र परम्परागत रथयात्रा मुख्य आकर्षणका रूपमा रहँदै आएको छ।
मेलाको महत्वपूर्ण परम्परा चौतारा बजारस्थित पुरानो भीमसेन मन्दिरबाट मूर्तिलाई रथमा राखेर गौराती पुर्याउनु हो। नेवार समुदायका गुठियारहरूले पञ्चेबाजासहित रथयात्रा निकाल्छन्। चुँदुवाडाँडा हुँदै गौराती पुर्याइएको भीमसेनको मूर्तिलाई त्यहाँस्थित भीमेश्वरको मूर्तिसँग धार्मिक विधिअनुसार मिलन गराइन्छ। स्थानीय विश्वासअनुसार चौताराका भीमसेन र गौरातीका भीमेश्वर दाजुभाइ हुन्।
रथयात्रा र पूजाआजासँगै गौराती क्षेत्रमा भक्तजनको चहलपहल बढ्ने गर्छ। मन्दिर परिसरमा अखण्ड दीप प्रज्वलन, जाग्राम, भजनकीर्तन र विशेष पूजाआजा गरिन्छ। मनोकामना पूरा हुने विश्वासमा भक्तजनले बत्ती बाल्ने, भाकल गर्ने र परम्पराअनुसार पूजा चढाउने गर्छन्।
गौराती भीमेश्वर मन्दिरको उत्पत्तिबारे स्थानीय समुदायमा एउटा किंवदन्ती प्रचलित छ। प्राचीन समयमा गौराती डाँडा गाईवस्तु चराउने खर्कका रूपमा रहेको र त्यहाँ एउटा गाईले रातको समयमा निश्चित स्थानमा दूध चढाउने गरेको गोठालाहरूले देखेको जनश्रुति छ। त्यसपछि उक्त स्थान खन्दा दिव्य स्वरूप प्रकट भएको र त्यसैलाई भीमेश्वरका रूपमा पूजा गर्न थालिएको स्थानीय विश्वास छ। यही किंवदन्तीसँग जोडेर ‘गौ’ र ‘राति’ शब्दबाट गौराती नाम रहन गएको भनाइ छ।
मन्दिरको ऐतिहासिकता झल्काउने पुरानो प्रमाणका रूपमा विसं १६४२ मा स्थानीय दलबहादुर कुँवरले चढाएको ढलौटको घण्टालाई लिइन्छ। विसं २०५३ मा मन्दिर पुनर्निर्माण गरिएको थियो। मन्दिर परिसरमा लक्ष्मी र महाकालीका मन्दिरसमेत रहेका छन्।
गौराती मेला धार्मिक आस्थासँगै स्थानीय संस्कृति र सामाजिक सम्बन्धको निरन्तरतासँग पनि जोडिएको छ। विशेषगरी चौताराका नेवार समुदायले यस मेलालाई दसैं–तिहारजत्तिकै महत्वका साथ मनाउने गरेका छन्। गुठियारको सहभागिता, परम्परागत बाजागाजा, रथयात्रा र पूजाविधिले स्थानीय सांस्कृतिक पहिचानलाई जीवन्त राख्न सहयोग पुर्याउँदै आएको छ।
मेलाको व्यवस्थापनलाई व्यवस्थित र सुरक्षित बनाउन यस वर्ष चौतारा साँगाचोकगढी नगरपालिका र जिल्ला प्रशासन कार्यालयको पहलमा सर्वपक्षीय छलफलसमेत गरिएको थियो। भक्तजनको सुरक्षा, यातायात तथा पार्किङ, खानेपानी, सरसफाइ, स्वास्थ्य सेवा र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको थियो। मेला क्षेत्रमा मदिरा बिक्री तथा सेवन र जुवाजन्य गतिविधि नियन्त्रण गर्ने, निःशुल्क स्वास्थ्य परीक्षण र खानेपानी उपलब्ध गराउने तथा व्यापारिक स्टलमा मूल्यसूची राख्ने निर्णय गरिएको थियो। सुरक्षा निगरानीका लागि सीसीटीभी र ड्रोन प्रयोग गर्ने तयारीसमेत गरिएको थियो।
चौतारा सदरमुकामबाट करिब चार किलोमिटर दूरीमा रहेको गौराती डाँडा धार्मिक महत्वसँगै प्राकृतिक सौन्दर्यका दृष्टिले पनि आकर्षक छ। हरियाली डाँडाकाँडा र जुगल हिमशृङ्खलाको दृश्यले यस क्षेत्रको पर्यटन सम्भावनालाई थप बलियो बनाएको छ। तर पर्याप्त पूर्वाधार र योजनाबद्ध प्रचारप्रसारको अभावमा यसको धार्मिक तथा पर्यटकीय सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन सकेको छैन।
गौराती भीमेश्वर मेला एउटा धार्मिक जमघट मात्र होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको स्थानीय इतिहास, सामुदायिक एकता र सांस्कृतिक पहिचानको उत्सव पनि हो। यसको संरक्षण र प्रवर्द्धन गर्न सके सिन्धुपाल्चोकको धार्मिक पर्यटन विकासमा थप योगदान पुग्न सक्छ।
११ मंसिर २०८३, बिहीबार १२:११