काठमाडौँ, असोज २५। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस्तान्तरण स्वाभाविक प्रक्रिया भए पनि नेतृत्व हस्तान्तरण निश्चित विधि, पद्धति र क्षमता विकासका आधारमा हुनुपर्ने बताएका छन्। उनले नयाँ पुस्तालाई तत्काल नेतृत्व दाबी गर्नुभन्दा तालिम लिएर, सिकेर र आफूलाई योग्य बनाएर क्रमशः जिम्मेवारी लिन सुझाव दिएका छन्।
आइतबार पार्टीको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले पुस्तान्तरणको नाममा समाजमा नयाँ विवाद र विभाजन सिर्जना गर्न खोजिएको आरोप लगाए। उनले विगतमा जात, धर्म र भूगोलका आधारमा विभाजन गर्न खोजिएजस्तै अहिले बाबु–छोरा र हजुरबा–नातिबीच द्वन्द्व उत्पन्न गराउन खोजिएको बताए।
ओलीले विगतको राजनीतिक अवस्था र वर्तमान समय फरक रहेको उल्लेख गर्दै पहिले आन्दोलनको समयमा कम उमेरमै पार्टी नेतृत्व सम्हाल्ने अवस्था भए पनि अहिले त्यही उदाहरणलाई आधार बनाएर नेतृत्व माग्नु उपयुक्त नहुने धारणा राखे। उनका अनुसार नयाँ पुस्ताले अहिले नेतृत्वका लागि हतार गर्नुभन्दा आवश्यक ज्ञान, सीप र अनुभव हासिल गर्नुपर्छ।
उनले शारीरिक तथा मानसिक रूपमा जिम्मेवारी निर्वाह गर्न नसक्ने अवस्था आएपछि नेतृत्व आफैँले जिम्मेवारी छाड्नुपर्ने बताए। साथै, पार्टीभित्र एकता कायम राख्न र अनावश्यक विवादमा नअल्झिन नेता तथा कार्यकर्तालाई आग्रह गरे।
एमालेले नै देशलाई सही दिशामा अघि बढाउन सक्ने दाबी गर्दै ओलीले एउटा निर्वाचनमा पराजित हुँदैमा पार्टी कमजोर नहुने बताए। उनले पार्टीको जागरण अभियानमा उच्च मनोबलका साथ सक्रिय हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
२५ आश्विन २०८३, आईतवार १८:५९