बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारततर्फ

काठमाडौं, असोज २६। गृहमन्त्री सुधन गुरुङ क्षेत्रीय सहकार्य र साझा चासोका विषयमा छलफल गर्न भारत प्रस्थान गरेका छन्। उनी सोमबार भारतको नयाँदिल्लीमा आयोजना हुने बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सहभागी हुन त्यसतर्फ गएका हुन्।

गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो। बैठकमा नेपालसहित भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्रीहरू सहभागी हुने कार्यक्रम रहेको छ।

बैठकमा सदस्य राष्ट्रहरूबीच आपसी सहयोग विस्तार, साझा चासोका विषय र क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउने सम्बन्धमा छलफल हुने अपेक्षा गरिएको छ। बिमस्टेक सदस्य राष्ट्रहरूबीच समन्वय बढाउन तथा आपसी हितका विषयमा साझा धारणा निर्माण गर्न बैठक महत्त्वपूर्ण हुने देखिएको छ।

दक्षिण तथा दक्षिणपूर्वी एसियाका देशहरूलाई जोड्ने क्षेत्रीय संगठन बिमस्टेकले प्राविधिक, आर्थिक र विभिन्न साझा मुद्दामा सहकार्य गर्दै आएको छ। नयाँदिल्लीमा हुने बैठकले सदस्य राष्ट्रहरूबीचको सम्बन्ध र सहयोगलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

२६ आश्विन २०८३, सोमबार १६:०४