कांग्रेस केन्द्रीय सदस्यको खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि

काठमाडौं, असोज २६। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यको खुलातर्फको मतगणना मंगलबार बिहानदेखि सुरु हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले सोमबार सूचना जारी गर्दै बिहान ८ बजेदेखि मतगणना अघि बढाइने जानकारी दिएको हो।

निर्वाचन समितिका अनुसार प्रत्यक्ष खुलातर्फका केन्द्रीय सदस्य पदको मतपत्र नम्बर ४ को गणना ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगरमा हुनेछ।

मतगणनालाई व्यवस्थित बनाउन निर्वाचन समितिले उम्मेदवारको प्रवेशसम्बन्धी व्यवस्था पनि सार्वजनिक गरेको छ। सूचनाअनुसार केन्द्रीय सदस्य पदका उम्मेदवार स्वयंलाई मात्र मतगणनास्थलमा प्रवेश गर्न दिइनेछ भने अन्य प्रतिनिधिलाई प्रवेशमा रोक लगाइएको छ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले हस्ताक्षर गरेको विज्ञप्तिमार्फत मतगणनाको समय, स्थान र प्रवेशसम्बन्धी व्यवस्थाबारे जानकारी गराइएको हो।

खुलातर्फको मतगणना सुरु हुने भएपछि कांग्रेसका उम्मेदवार तथा कार्यकर्ताको ध्यान अब मतपरिणामतर्फ केन्द्रित भएको छ। मतगणनाबाट केन्द्रीय कार्यसमितिमा निर्वाचित हुने सदस्यहरूको टुंगो लाग्नेछ।

२६ आश्विन २०८३, सोमबार १६:०२