काठमाडौं । विश्वभर प्रत्येक वर्ष करिब १ करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको छ। बालविवाह, कम उमेरमा हुने विवाह तथा जबर्जस्ती विवाहलाई अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घले विश्व समुदायलाई प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।
नोभेम्बर २७ मा पहिलोपटक मनाइएको बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रसङ्घले बालिकाको अधिकार संरक्षणका लागि विश्वव्यापी अभियान तीव्र बनाउन आह्वान गरेको हो। राष्ट्रसङ्घीय महासभाले गत सेप्टेम्बर ४ मा प्रस्ताव पारित गर्दै हरेक वर्ष नोभेम्बर २७ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।
राष्ट्रसङ्घका अनुसार सन् २०२६ सम्म विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिकाको विवाह १८ वर्ष नपुग्दै भएको थियो। विश्वभर प्रत्येक पाँचमध्ये एक बालिकाले बाल्यकालमै विवाह गर्नुपर्ने अवस्था रहेको छ। तथ्याङ्कअनुसार प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार हुने गरेकी छन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बालविवाहले बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा गम्भीर असर पारिरहेको बताएका छन्। गरिबीलाई बालविवाहको प्रमुख कारणका रूपमा उल्लेख गर्दै उनले द्वन्द्व, जलवायुजन्य विपद् र विस्थापनका समयमा बालिकाहरू थप जोखिममा पर्ने बताएका छन्।
उनका अनुसार बालिकालाई विद्यालयमा निरन्तरता दिने वातावरण बनाउने, परिवारको आर्थिक अवस्था सुधार गर्ने, कानुनी संरक्षण बलियो बनाउने र लैङ्गिक विभेदपूर्ण सामाजिक मान्यता परिवर्तन गर्ने प्रयास आवश्यक छ।
पछिल्लो २५ वर्षमा शिक्षा, सामाजिक संरक्षण र कानुनी सुधारका माध्यमबाट विश्वभर अनुमानित ६ करोड ८० लाख बालविवाह रोक्न सकिएको राष्ट्रसङ्घले जनाएको छ। तर, हालको प्रगतिको गति पर्याप्त नभएको भन्दै गुटेरेसले सरकार, निजी क्षेत्र, नागरिक समाज र सामुदायिक नेतृत्वलाई थप लगानी तथा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन्।
राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का उपकार्यकारी निर्देशक टेड चाइबानले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने दिगो विकास लक्ष्य हासिल गर्न अहिले भइरहेका प्रयासको गति २० गुणाले बढाउनुपर्ने बताएका छन्। बालविवाह मानवअधिकारको उल्लङ्घन भएकाले १८ वर्षलाई विवाहको न्यूनतम उमेर निर्धारण गर्ने कानुन निर्माण मात्र पर्याप्त नहुने र त्यसको प्रभावकारी कार्यान्वयन पनि आवश्यक रहेको उनको भनाइ छ।
बालविवाहको सबैभन्दा ठूलो भार दक्षिण एसियाले बेहोर्दै आएको छ। विश्वभर बालविवाहमा परेका महिला तथा बालिकामध्ये ४४ प्रतिशत अर्थात् करिब २८ करोड ५० लाख दक्षिण एसियामा छन्। त्यस्तै, उपसहारा अफ्रिकामा १८ प्रतिशत अर्थात् करिब ११ करोड ५० लाख रहेका छन्।
यद्यपि, पछिल्लो एक दशकमा विश्वव्यापी बालविवाहको दर १५ प्रतिशतले घटेको छ। पहिले २५ प्रतिशत महिला तथा बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेकोमा अहिले यो अनुपात घटेर करिब २१ प्रतिशतमा पुगेको छ। यस अवधिमा करिब २ करोड ५० लाख बालविवाह रोकिएको राष्ट्रसङ्घको तथ्याङ्क छ।
बालविवाहका कारण बालिकाहरू शिक्षाबाट वञ्चित हुने, आर्थिक रूपमा परनिर्भर बन्ने र आफ्नै जीवनबारे निर्णय गर्ने अधिकार गुमाउने जोखिममा रहन्छन्। कम उमेरमा गर्भधारण, मातृस्वास्थ्यसम्बन्धी जटिलता, लैङ्गिक हिंसा तथा यौन शोषणको जोखिमसमेत बढ्ने गरेको छ।
दिगो विकास लक्ष्यको लक्ष्य नम्बर ५.३ ले सन् २०३० सम्म बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाहलगायत सबै हानिकारक प्रथा अन्त्य गर्ने लक्ष्य राखेको छ। तर, अहिलेको प्रगति कायम रहे बालविवाह अन्त्य गर्न अझै करिब ३०० वर्ष लाग्ने राष्ट्रसङ्घको चेतावनी छ।
बालविवाह अन्त्यका लागि कानुनी व्यवस्था प्रभावकारी बनाउनुका साथै बालिकाको शिक्षामा पहुँच, सामाजिक सुरक्षा र आर्थिक अवसर विस्तार गर्नुपर्नेमा राष्ट्रसङ्घले जोड दिएको छ। विवाह भइसकेका, गर्भवती भएका वा सन्तान जन्माएका किशोरीलाई पनि शिक्षा निरन्तरता दिन र पुनः विद्यालय फर्कन सहयोग गर्नुपर्ने उसको आग्रह छ।
१२ मंसिर २०८३, शुक्रबार १०:४८