काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरूले नयाँ अध्यादेश र नियमावलीप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सरोकारवालासँग पर्याप्त छलफल नगरी कानुनी व्यवस्था ल्याइएको भन्दै विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको राजीनामा माग गरेका हुन्।
शुक्रबार प्रतिष्ठानको परिसरमा भेला भएका कर्मचारीहरूले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ र त्यसअन्तर्गतको नियमावलीमा आफ्ना सुझावलाई बेवास्ता गरिएको आरोप लगाए।
प्रदर्शनका क्रममा प्राविधिक अधिकृत समुन्द्र कँडेलले नयाँ अध्यादेश तथा नियमावली वैज्ञानिक र कर्मचारीमैत्री नभएको बताए। सुधारका नाममा विद्यमान संस्थालाई कमजोर बनाउने, विज्ञान तथा अनुसन्धान क्षेत्रलाई प्रभावित पार्ने र दक्ष जनशक्ति पलायन हुने अवस्था सिर्जना गर्न नहुने उनको भनाइ थियो।
कर्मचारीहरूले अध्यादेश र नियमावली तत्काल खारेज गर्नुपर्ने मागसमेत अघि सारेका छन्। साथै, मन्त्रालय तथा मन्त्रीको हस्तक्षेप रोक्न, सरोकारवालाको सहभागितामा विज्ञानमैत्री कानुन तथा नीति निर्माण गर्न र संस्थाको नेतृत्व खुला प्रतिस्पर्धाबाट चयन गर्नुपर्ने उनीहरूको माग छ।
त्यसैगरी, साविकको ऐनअनुसार नियुक्त भएका कर्मचारीको सेवा सुरक्षा सुनिश्चित गर्न तथा संस्थाभित्र एकपक्षीय निर्णय गर्ने प्रवृत्ति अन्त्य गर्न पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन्। अध्यादेश जारी गर्दा नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै कर्मचारीहरूले मन्त्री पुनको तत्काल राजीनामा माग गरेका छन्।
१२ मंसिर २०८३, शुक्रबार १३:५१